काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले आज अदालत उपस्थित गराउन लागेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले आइतबार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको सीआईबीका एसएसपी शिव कुमार श्रेष्ठले बताए ।
महरालाई म्याद थप गर्न सरकारी वकिलमार्फत प्रहरीले सोमबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउँदै छ । एसएसपी श्रेष्ठले भने, ‘हामी कानुन बमोजिम अनुसन्धान अघि बढाउँछौँ ।’ सीआईबीले महरालाई २०८० चैत ५ मा पनि पक्राउ गरेको थियो । त्यसबेला बयान प्रक्रिया पूरा गरेर उनी हाजिर जमानीमा रिहा भएका थिए । सुशीला कार्कीको नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद् गठन र सीआईबीको नेतृत्व परिवर्तन भएसँगै महरा १८ महिनापछि पुन पक्राउ परेका हुन् ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर पुनस् मुद्दा चलाउन सिफारिस गरेको थियो । आयोगको प्रतिवेदनको आधारमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष समेत रहेका महरालाई अनुसन्धान गरेर ‘पुरक प्रतिवेदन’ जिल्ला सरकारी वकिल कार्यालयमा पेस गर्ने सीआईबीको तयारी छ ।
भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग ‘कनेक्सन’ देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले उनलाई संगठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।