काठमाडौं । लखनाउ सुपर जायन्ट्सका कप्तान केएल राहुल र क्वीनटन डी कको शतकीय साझेदारीसँगै चेन्नई सुपर किंग्समाथि शानदार जित हासिल भएको छ । शुक्रबार रातिको खेलमा लखनउ आठ विकेटले विजयी बनेको हो ।
चेन्नईले दिएको १७७ रनको लक्ष्य लखनउले १९ ओभरमा दुुई विकेटको क्षतिमा पूरा गरेको हो । लखनउका लागि कप्तान केएल राहुलले सर्वाधिक ८२ रन बनाए । उनले ५३ बलमा ९ चौका र ३ छक्का हाने ।
उनलाई अर्का ओपनर क्वीनटन डी ककले ५४ रन बनाउँदै साथ दिए । उनीहरूले पहिलो विकेटका लागि १३४ रनको साझेदारी गरे ।
निकोलस पुरनले नटआउट रहँदै २३ रन बनाए । चेन्नईका लागि मुस्तफिजुर रहमान र मथिसा पाथिरानाले १-१ विकेट लिए ।
यसअघि पहिलो ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । चेन्नईका लागि रवीन्द्र जाडेजाले सर्वाधिक ५७ रनको योगदान दिए ।
त्यस्तै, ओपनर अजिंक्या रहानेले ३६ रन तथा मोइन अलीले ३० रन बनाए । खेलको अन्त्यमा पूर्वकप्तान महेन्द्रसिंह धोनीले ९ बलमा २८ रन बनाए ।
लखउनका लागि क्रुनाल पाण्ड्याले २ विकेट लिए भने मोहसिन खान, यश ठाकुर, रवि विश्नोई र मार्कस स्टोइनिसले १-१ विकेट लिए ।
जितपछि लखनउ ७ खेलबाट ८ अंक बटुल्दै पाँचौँ स्थानमा छ । समान अंक रहेको चेन्नई नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ ।