बेसारसहित कर्णालीका कृषि उत्पादन युरोप निर्यात

0 Shares

सुर्खेत । कर्णाली प्रदेशका कृषि उत्पादनहरू युरोपमा निर्यात हुन थालेपछि किसानहरू उत्साहित भएका छन् । आर्थिक वर्ष २०८१र८२ मा कर्णालीबाट ३६५ मेट्रिक टन अदुवा र बेसारको धुलोसहित अन्य कृषि उपज युरोप निर्यात गरिएको छ ।

कर्णाली सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता बखत खड्काका अनुसार सल्यान, रुकुम पश्चिम र सुर्खेतको पूर्वी क्षेत्रमा उत्पादित उच्च गुणस्तरीय अदुवा र बेसारलाई सुकाएर, अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण गरी जर्मनीलगायतका देशमा निर्यात गरिएको छ । यी उत्पादनहरू सुर्खेतको छिन्चुमा रहेको ‘द अर्गानिक भ्याली’ नामक कम्पनीले सङ्कलन, प्रशोधन र निर्यात गर्दै आएको छ ।

निर्यात हुने अन्य उत्पादन

अदुवा र बेसारबाहेक मकैको पीठो, दाल, सिमी, घिउ र सिस्नुको धुलोसमेत विदेश निर्यात भइरहेको प्रवक्ता खड्काले बताए। हाल यस कार्यबाट कर्णालीका तीन जिल्लाका २ हजारभन्दा बढी किसान प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

अर्गानिक उत्पादनले उचित मूल्य पाउन थालेपछि किसानको आयआर्जन बढेको र जीवनस्तर उकास्न सहयोग पुगेको छ ।

यद्यपि, भौगोलिक विकटता र बजारसम्म पहुँच नहुँदा अदुवा र बेसार खेती गर्ने किसानहरूलाई भने सहज रूपमा बजार पुग्न कठिनाइ भएको छ । उनीहरूले प्रदेश सरकारलाई ‘पकेट क्षेत्र’ निर्माण गरी उत्पादन र बिक्रीवितरणलाई सहज बनाउन माग गरेका छन् ।

सम्बन्धित समाचार