काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी श्रीमती डा. आरजु राणा देउवामाथि भएको हमलाविरुद्ध सोसलिष्ट इन्टरनेशनले आपत्ति जनाएको छ ।
विश्वका ८३ देशका ९१ राजनीतिक पार्टी सदस्य रहेको सोसलिष्ट इन्टरनेशनले वक्तव्यमार्फत जेनजीको प्रदर्शनमा भदौ २४ गते देउवा दम्पतीलगायत राजनीतिक व्यक्तिमाथि भएको भौतिक हिंसाको आपत्ति जनाएको हो ।
सोसलिष्ट इन्टरनेशनका अध्यक्ष पेद्रो साञ्चेज पेरेज कास्तेजोनले वक्तव्य जारी गर्दै उक्त घटना क्रमबारे चिन्ता व्यक्त गरे ।
प्रदर्शनका क्रममा मृत्यु भएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोक सन्तप्त परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
सोसलिष्ट इन्टरनेशनले प्रजातान्त्रिक व्यवस्थाअनुसार ढिलाइ नगरी शान्तिपूर्ण संवादबाट निकास हुने अपेक्षाका साथ यस चुनौतीपूर्ण क्षणमा आफ्नो सदस्यसमेत रहेको कांग्रेस पार्टीप्रति ऐक्यबद्धता जनाएको छ ।