गोल्छा समूह अन्तर्गतको हुलास फिनसर्भको खुद नाफा १२१ प्रतिशतले बढ्यो

0 Shares

काठमाडौँ । गोल्छा समूह अन्तर्गतको कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भ हायर पर्चेज कम्पनीको खुद नाफा गत आर्थिक वर्षको तुलनामा १२१.८७ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा ९ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले २०८१/८२ मा २१ करोड ७८ लाख रुपैयाँभन्दा बढी नाफा आर्जन गर्न सफल भएको हो। यो अवधिमा कम्पनीको वितरणयोग्य नाफा पनि ६१.३६ प्रतिशतले बढेको छ ।

कम्पनीले कुल ८ अर्ब २ करोड ७८ लाख रुपैयाँ कर्जा प्रवाह गरी २२ करोड ३७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यससँगै कम्पनीले ६२ करोड ४० लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।

कम्पनीको वित्तीय अवस्थामा सुधार आएको देखिन्छ। गत वर्षको तुलनामा निष्क्रिय कर्जा घटेर ३.४० प्रतिशतमा झरेको छ। यसैगरी, प्रतिसेयर आम्दानी २६.२५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७९.६३ रुपैयाँ पुगेको छ। कम्पनीको अध्यक्षमा शेखर गोल्छा रहेका छन् ।

सन् २०१२ देखि राष्ट्र बैंकबाट गैर-बैंकिङ कम्पनीको इजाजतपत्र लिएर सेवा सञ्चालन गरिरहेको हुलास फिनसर्भले सवारी साधन, घरायसी उपकरण, विद्युतीय उपकरण, कम्प्युटर र मोबाइल फोन जस्ता सामानहरूमा कर्जा सुविधा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार