काठमाडौँ । अहिले प्याज, गोलभेडा र आलुको मूल्यवृद्धिका कारण भान्सा दोब्बर महंगिएको छ । एक वर्षमा नै भारतीय बजारमा नै प्याज, गोलभेडा र आलुको मूल्य ५० प्रतिशतको हाराहारीमा बढेको छ । भारतमा मूल्य वृद्धि भएपछि नेपालमा पनि यसको असर परेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार समितिको मूल्य सूची अनुसार गत वर्षको तुलनामा प्याज र आलुको थोक मूल्य दोब्बरले बढेको छ ।
एक वर्षमा प्याज किलोमा नै करिब ३५ रूपैयाँ भन्दा बढीले महंगिएको छ । २०७९ चैत २५ गतेको मूल्य सूची अनुसार भारतीय प्याजको थोक मूल्य एक किलोको ३३ रूपैयाँ रहेको थियो । जुन २०८० को चैत २५ गतेसम्म बढेर ६७ रूपैयाँ ६७ पैसा पुगेको छ ।
यसैगरी, गत वर्षको चैत २५ गते, आलुको थोक मूल्य प्रतिकिलो २६ रूपैयाँ रहेको थियो । जुन एक वर्षपछि बढेर प्रतिकिलो ३९ रूपैयाँ पुगेको छ । यसरी एक वर्षमा आलुको भाउ १३ रूपैयाँले वृद्धि भएको समितिले जनाएको छ ।
समितिका अनुसार गत वर्ष ३५ रूपैयाँ थोक मूल्य रहेको सानो गोलभेडा अहिले ६३ रूपैयाँ ७५ पैसा पुगेको हो । भारतीय ठूलो गालेभेडा पनि ५५ रूपैयाँबाट बढेर ७३ रूपैयाँ ७५ पैसा पुगेको छ । यस्तै, अदुवाको भाउ पनि दोब्बरले बढेको छ । अघिल्लो वर्ष प्रति किलो १२५ रूपैयाँ रहेको अदुवा हाल प्रतिकिलो २४० रूपैयाँमा कालीमाटीमा खरिदबिक्री भइरहेको छ ।
के के महंगियो ?
गत वर्षको तुलनामा यस वर्ष केहि तरकारी महंगिएका छन् । जसमध्ये नेपाली गोलभेडा, आलु, प्याज, बन्दा, लौका,घिरौला,पाकेको फर्सी, सलगम, भिण्डी , पिंडालू, तरूल,डल्लो च्याउ,कुरीलो लगायत पर्दछन् । यसका साथै रायो, पालूगो, चमसूर र मेथीको सागको भाउ पनि सामान्य बढेको छ । सुकेको चाइनिज लसुन १७५ रूपैयाँबाट बढेर २६० रूपैयाँ र नेपाली लसुन ९५ रूपैयाँबाट महंगिदै १७५ रूपैयाँसम्म पुगेको छ ।
कुन तरकारी सस्तियो ?
एक वर्षमा च्याउ, गाजर, मूला, घिउ सिमी, टाटे सिमी, बकूला, न्यूरो, तोरीको सागको थोक मूल्य घटेको समितिको तथ्यांकले देखाउँछ । सोहि समयमा काउली दोब्बर बढी ५० प्रतिशतले घट्यो । पहिले प्रतिकिलो ४५ रूपैयाँ रहेको काउली अहिले कालीमाटीमा ३० रूपैयाँमा पाइन्छ । त्यस्तै, ३५ रूपैयाँको भान्टा ५६.७४ प्रतिशतले गिरावट हुँदा अहिले २२ रूपैयाँ ३३ पैसामा उपलब्ध रहेको छ ।
भारतमा पनि महंगो भयो भान्सा
भारतमा प्याज, टमाटर र आलुको मूल्यवृद्धिका कारण सन् २०२३ को तुलनामा शाकाहारी थाली वार्षिक रूपमा ७ प्रतिशतले महँगो भएको छ । तर, पोल्ट्रीको मूल्य घटेपछि मांसाहारी थाली ७ प्रतिशतले सस्तो भएको छ । क्रिसिल मार्केट इन्टेलिजेन्स एण्ड एनालिसिसले बिहीबार सार्वजनिक गरेको मासिक ‘रोटी चावल रेट’ प्रतिवेदनमा शाकाहारी थालीमा रोटी, तरकारी (प्याज, टमाटर र आलु), चामल, दाल, दही र सलाद समावेश गरिएको बताइएको छ । यो थालीको मूल्य गत महिना प्रति प्लेट २७.३ भारतीय रुपैयाँ पुगेको छ, जुन २०२३ को मार्चमा २५.५ भारू थियो। तर, फेब्रुअरीमा २७.४ रुपैयाँको तुलनामा मार्चमा शाकाहारी थाली सस्तो भएको छ ।
मांसाहारी थालीको मूल्यमा १६ प्रतिशतले गिरावट देखिएको छ । गत मार्चमा प्रतिप्लेट ५९।२ रहेको मांसाहारी थाली यो मार्चमा ५४।९ भारू पर्ने गरेको छ । यो थालीको मूल्य २०२४ को फेब्रुअरीमा ५४ रहेको थियो ।
भारतमा प्याज र गोलभेडाको मूल्य ४० प्रतिशतले बढ्यो
प्रतिवेदनका अनुसार कम उत्पादन र न्यून आधार दरका कारण प्याजको भाउ वार्षिक ४० प्रतिशतले बढेको छ । गोलभेडाको मूल्य ३६ प्रतिशत र आलुको मूल्य २२ प्रतिशतले बढेपछि सर्वसाधारणको शाकाहारी थाली महँगो भएको हो । उत्पादन कम भएकाले चामल पनि वार्षिक १४ प्रतिशतले महँगो भएको छ । दालको मूल्य २२ प्रतिशतले बढेको छ ।