काठमाडौं । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश डा. खुसीप्रसाद थारुलाई मोसो दलिएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
बिहीबार नेकपा बहुमत पार्टीका तीन कार्यकर्ताले न्यायाधीश थारुको कार्यकक्षमा पुगेर मोसो दलेका थिए । साथै न्यायाधीशका पीएसओ फेरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । थारुलाई मोसो प्रहार हुँदा उनका पीएसओ (पर्सनल सेक्युरेटी अफिसर) बिदामा थिए ।
यसका साथै यसअघि खटिँदै आएका न्यायाधीशका पीएसओसमेत फेरिएका छन् । न्यायाधीश थारुका साथै सबै न्यायाधीशको पीएसओलाई फिर्ता बोलाएर नयाँ टोली पठाइएको हो ।
इँट्टा भट्टामा जिउँदै मान्छे पोलेर हत्या गरेको आरोपमा जिल्ला अदालत रौतहटले दोषी ठहर गरेका नेपाली कांग्रेस नेता मोहमद अफताब आलमलाई न्यायाधीश थारुसहितको इजलासले सफाई दिएको थियो ।
त्यसपछि आक्रोशित बहुमत पार्टीका तीन कार्यकर्ताले थारुलाई मोसो दलेका थिए । घटनामा संलग्न भएको भन्दै प्यूठानको गौमुखी गाउँपालिका ६ घर भई हाल ललितपुरको कुपन्डोल बस्दै आएका ३८ वर्षीय अविनाश भन्ने किशोर कुँवर, सर्लाहीको बरहथवा नगरपालिका २ का ४३ वर्षीय पदम बहादुर मगर र सिराहाको गोलबजार नगरपालिकाका ४८ वर्षीय गर्भु महतोलाई पक्राउ गरी अनुसन्धान थालिएको थियो ।