काठमाडौं । नेपाली बजारमा डेढ महिनामा सुनको मूल्य तोलामा १७ हजार पाँच रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि त्यसको प्रभाव नेपाली बजारमा पर्न गएको हो ।
फागुनको पहिलो साता प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य चैत अन्तिम साता बढेर एक लाख ३४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
फागुन महिनामा उतारचढाव रहेको सुनको मूल्य चैत महिना सुरु भएदेखि निरन्तर बढ्दै गएको हो । अन्तर्राष्ट्रिय बजारमा डलर बलियो हुँदा सुनको मूल्य घट्नु पर्ने भए पनि लगातार मूल्य बढ्दै गएको हो ।
विश्व बजारमा केन्द्रीय बैङ्कहरूले क्रयशक्ति बचाउन सुनको रिजर्भ बढाएका कारणले गर्दा पनि मूल्य बढ्न गएको हो । छिमेकी मुलुक भारत र चीनले समेत सुनको खरिद बढाउँदै गएको छ । एक महिनाअघिदेखि सुनको मूल्य निरन्तर बढ्दै गएको छ, अन्तर्राष्ट्रिय बजार हेर्दा सुनको मूल्य अझै बढेर एक लाख ५० हजार रुपैयाँसम्म पुग्ने अनुमान शाक्यको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔँस दुई हजार ३०२ डलर पुगेको छ । डेढ महिनादेखि लगातार सुनको मूल्य बढेपछि स्थानीय बजारमा कारोबार ठप्प रहेको छ । लगनको सिजन नभएको र मूल्य निरन्तरण बढेकाले पनि कारोबार न्यून रहेको व्यवसायीको भनाइ छ ।
हाल दैनिक पाँच देखि १० किलोसम्म मात्र सुन बिक्री हुने गरेको छ । कारोबार नहुँदा अधिकांश सुन पसलमा सुनको मौज्दात रहेको छ । नेपाल बैङ्कर सङ्घका अनुसार अहिले बैङ्कमा ११७ किलो सुन मौज्दात छ ।
नेपालमा अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर मूल्य निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय बजारको हकमा ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर यहाँ मूल्य निर्धारण गर्ने चलन छ ।
त्यसमा १५ प्रतिशत भन्सार शुल्क लाग्छ । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावसँगै नेपालमा पनि बढाइन्छ । मूल्य बढेकै कारण लगनको सिजनमा सुनको कारोबारमा प्रत्यक्ष असर परेको महासङ्घले जनाएको छ ।