काठमाडौं । राजावादी समर्थित दलले आन्दोलनको शैली परिवर्तन गरेपछि पूर्वराजा ज्ञानेन्द्र शाह झापाको चिया बगान पुगेका छन् ।
राजावादीहरूले काठमाडौं केन्द्रित आन्दोलनमा यसअघि विवाद उत्पन्न भएको थियो । बैठकमा राजावादी शक्तिबीच माइक खोसाखोसको स्थितिमा परिणत भएपछि काठमाडौं केन्द्रित आन्दोलन फिर्ता लिएर गाउँ केन्द्रित आन्दोलन घोषणा गरेका हुन् ।
राजावादीले आन्दोलनको मोडालीटी परिवर्तन गरेर गाउँ केन्द्रित आन्दोलन सुरु गरेपछि पूर्वराजा झापा पुगेसँगै अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि पूर्वराजा नगरकोटमा हप्ता बसेर आन्दोलनको रणनीति बनाएको जनाइएको थियो ।
लगत्तै पूर्वराजाकै सल्लाहमा राजतन्त्र समर्थित दलले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका थिए । काठमाडौं केन्द्रित आन्दोलन गाउँतिरबाट सुरु गर्ने भएपछि पूर्वराजा झापा पुगेर रणनीति बनाउन लागेको अफवाह फैलिएको छ ।
तर, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जेठ ११ गतेदेखि पूर्वराजा ज्ञानेन्द्र शाह झापामै रहेको जानकारी दिए । उनले राजा बेलाबेला झापामा मनोरञ्जन र समय बिताउन पुग्ने गरेको बताए ।
‘उहाँ (ज्ञानेन्द्र शाह) जेठ ११ गते झापा जानुभएको हो, राजाले आन्दोलन गर्ने रणनीति बनाउने होइन, आन्दोलन र रणनीति दल, शुभेच्छुक र आमजनताले गर्ने हो,’ उनले भने, ‘अहिलेको भ्रष्ट व्यवस्था र भ्रष्ट शासकको गर्ने भनेको विद्रोह हो, जनताले ढिलो चाँडो विद्रोह गर्ने छन्, त्यसपछि राजतन्त्र आउँछ ।’
प्रवक्ता श्रेष्ठले राजतन्त्र पूर्नस्थापनाको आन्दोलन फिर्ता नलिएको जिकीर गरे । अहिलेको आन्दोलनको मोडालिटी मात्रै परिवर्तन भएकाले गाउँबाट सहर घर्ने रणनीतिन्तर्गत आन्दोलन जारी रहने उनको भनाइ छ ।
अहिलेको व्यवस्थाबाट जनताले निकास नपाउने भएकाले अवस्था परिवर्तन गर्न व्यवस्था फेर्नुपर्ने राजावादीहरूले बताउँदै आएका छन् ।