राष्ट्रपति ट्रम्प र मस्कबीच पानी बाराबार, ट्रम्पले दिए मस्कलाई यस्तो धम्की,  अब के होला ?

0 Shares

काठमाडौं । अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वको सबैभन्दा धनी एलोन मस्कबीच पानी बाराबारको स्थिति आएको छ । टेस्लासँगै विभिन्न विश्वस्तरको ठूला कम्पनीका मालिक तथा अमेरिकी खर्बपति एलन मस्कले ट्रम्प प्रशासन छाडिसकेका छन् ।

ट्रम्पलाई अमेरिकन राष्ट्रपति बनाउनका लागि मस्कले ठूलो भूमिका निभाएका थिए । ट्रम्पलाई मस्कले आर्थिक सहयोगसमेत गरेर राष्ट्रपति बनाए । ट्रम्पले त्यसको बदलामा मस्कलाई सरकारी दक्षता विभाग (डोज)को जिम्मेवारी दिएका थिए  जसका काम सरकारको बेकारका खर्च घटाउनु थियो ।

मस्कले विशेष सरकारी कर्मचारीका रूपमा आफ्नो समय सकिएको बताए । उनले यस जिम्मेवारीका लागि अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिए । अहिले यी दुई शक्तिशाली व्यक्तिबीच पानी बाराबारको स्थिति आएको छ । उनीहरू एकअर्काविरुद्ध खनिन थालेका छन् ।

ट्रम्पले दिए यस्तो धम्की ?

संघीय अमेरिकी सरकारका कामहरूबाट मस्कको कम्पनीलाई हटाइदिने ट्रम्पले धम्की दिएका छन् । ती काम मस्कको स्पेसएक्स कार्यक्रमका निम्ति आधारस्तम्भ हुन् । ‘हाम्रो बजेटमा अर्बौं पैसा जोगाउने सबैभन्दा सरल उपाय भनेको लोनले पाइरहेको सरकारी ठेक्का तथा अनुदान रद्द गरिदिनु हुनेछ,’ ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा धम्कीपूर्ण भाषामा लेखेका छन् ।

यदि, ट्रम्पले सरकारी संयन्त्रलाई मस्कविरुद्ध परिचालन गरे भने यी अर्बपति प्रविधि कम्पनीका मालिकलाई अवश्य पीडा हुनेछ। बिहीबार उनको कम्पनी टेस्लाको सेयर मूल्य १४ प्रतिशतले घट्यो । तर, पीडा एकतर्फी मात्र चाहिँ हुने छैन ।

मस्कले गरे ट्रम्पलाई महाभियोग लगाउने आह्वान

ट्रम्पको धम्कीपश्चात् मस्कले उनलाई महाभियोग लगाउन आह्वान गरे । हिम्मत भए आफ्नो कम्पनीलाई प्राप्त सरकारी अनुदान हटाइदिन भने ।

साथै, उनको कम्पनीको ड्र्यागन स्पेस क्राफ्टलाई फिर्ता गर्ने कार्य तेज बनाउने पनि चेतावनी दिए । अमेरिकी अन्तरिक्षा यात्रुहरूलाई ओसारपसार गर्न र इन्टरन्याशनल स्पेस स्टेसनमा आपूर्ति गर्न अमेरिका सो स्पेसक्राफ्टमा निर्भर छ । मस्कसँग ट्रम्पलाई जवाफ दिन असिमित स्रोत छन् । उनले आगामी वर्ष हुने संसदीय तथा प्राइमरी चुनावमा ट्रम्पविरोधी उम्मेदवारलाई आर्थिक सहयोग दिन सक्छन् ।

अनि बिहीबार अबेर उनले ट्रम्पविरुद्ध ‘ठूलो बम’ खसाल्न लागेको भन्दै विना प्रमाण दिवंगत यौन अपराधी जेफ्रे एप्स्टिनका हालसम्म सार्वजनिक नभएका फाइलमा ट्रम्पको नाम पनि रहेको आरोप लगाए । ट्रम्पकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले मस्कले लगाएको आरोपको हलुका प्रतिवाद गरिन् ।

‘इलोनबाट भएको यो दुर्भाग्यपूर्ण काम हो। उनले चाहेको नीति नसमेटिएका कारण उनी ‘वन बिग ब्युटिफुल बिल’सँग असन्तुष्ट थिए,’ लेभिटले भनिन्। ट्रम्पले अघि सारेको अनि ‘विशाल र सुन्दर’ संज्ञा दिएको विधेयकले सरकारी बजेट घाटा चर्कने भन्दै मस्कले त्यसलाई घिन लाग्दो भनेर केही दिनअगाडि टिप्पणी गरेपछि दुईबीचको विमति उजागर भएको थियो ।

करिब चार महिना डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिअन्सी (डोज) हाँकेका मस्कले अर्बौं डलर खर्च कटौती गरिदिएको दाबी गरेका थिए । गत साता मात्रै उक्त अभियानबाट उनको बहिर्गमन हुँदा ट्रम्पले उक्त कार्यलाई प्रशंसा गरेका थिए ।

अब के होला ?

ट्रम्पको सम्पूर्ण प्रशासनविरुद्ध मस्कले जित्न त नसक्लान् । तर, उनको कदमका कारण ट्रम्प र रिपब्लिकन पार्टीले चर्को राजनीतिक- अनि व्यक्तिगत मूल्य चुकाउनुपर्ने हुन सक्छ ।

यो जानेरै होला सायद, ट्रम्पले बिहीबार अबेर भएको एक कार्यक्रममा मस्कबारे थप टिप्पणी गरेनन् । पछि ट्रुथ सोसलमा लेख्दै उनले मस्कले आफ्नो विरोध गरेकोमा खासै चित्त नदुखेको तर मस्कले महिनौँअगाडि सरकारी सेवा छाडिदिएको भनेका छन् ।

कर तथा खर्चसम्बन्धी आफ्नो ‘सुन्दर र विशाल’ विधेयकको उनले थप बचाउ गरे । बिहीबारको चर्काचर्कीपछि दुवै पक्षका सामु सहज बाटो भने देखिँदैन। रिपब्लिकनलाई अब उक्त विधेयकको पक्षमा आफ्ना सबै सदस्यलाई एकजुट बनाइराख्न गाह्रो पर्न सक्छ, किनभने त्यसका विरोधीलाई अब मस्कले हर किसिमको सहयोग गर्लान् ।

यसबीच डेमोर्क्याटहरू भने किनारामा बसेर सबै दृश्य हेरिरहेका छन् । आफ्नो दलका पूर्वआर्थिक सहयोगी मस्कलाई पुनः स्वागत गर्न थोरै मात्र इच्छुक देखिन्छन् । तर, एउटा पुरानो उक्ति छ, ‘दुस्मनको दुस्मन तिम्रो मित्र हो ।’

जे होस् अहिलेलाई पछाडि बसेर यी दुईबीचको बाझाबाझ हेर्न डेमोर्क्याटलाई आनन्द लागिरहेको देखिन्छ। यो झगडा नसकिएसम्म अमेरिकी राजनीतिमा अरू मुद्दा ओझेलमा पर्लान् । अनि यो झगडा चाँडै साम्य हुने पनि देखिँदैन। ‘राष्ट्रपतिका रूपमा ट्रम्पसँग अब साढे तीन वर्ष बाँकी छ,’ मस्कले एक्समा लेखेका छन्, ‘तर म अझै ४० वर्षभन्दा बढ्ता यहीँ हुनेछु।’

सम्बन्धित समाचार