काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले नयाँ स्टक एक्सचेञ्जको अनुमतिपत्र दिने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य चिन्तामणि शिवाकोटी नेतृत्वको समितिले दिएको प्रतिवेदन अनुसार नयाँ स्टक एक्सचेञ्जको अनुमति प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
यसअघि रोकिएको नयाँ स्टक एक्सचेञ्जको अनुमति प्रक्रिया मन्त्रिपरिषद् बैठकले शिवाकोटी समितिले गरेको सिफारिसका आधारमा खोल्ने निर्णय गरेको एक मन्त्रीले जानाकारी दिए । नयाँ स्टक एक्सचेञ्जका लागि हिमालयन स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेञ्ज लिमिटेडले आवेदन दिएका छन् ।
विसं २०८० माघ २ गते गठितनेपाल राष्टेर बैंकका सञ्चालक चिन्तामणी शिवाकोटी नेतृत्वको समितिले नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिन सकिने प्रतिवेदन २०८१ वैशाख १३ गते नै दिए पनि त्यसबारे हालसम्म कुनै निर्णय भएको थिएन । सरकारले धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्त गरेपछि भने यो प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको थियो ।
समितिले १३ वैशाखमा तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई बुझाएको प्रतिवेदनमा निजी क्षेत्रलाई एउटा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन सकिने वा नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरी थप आधुनिक र प्रविधियुक्त बनाउनुपर्ने सिफारिस गरिएको थियो । दुवै काम सँगसँगै अघि बढाउन पनि सकिने प्रतिवेदनमा उल्लेख छ ।