काठमाडौं । विराटनगर महानगर ४ मा हत्या गरिएको अवस्थामा भेटिएकी चन्द्रिकाकुमारी दासको प्रेमी शिवशंकर दासको पनि शव भेटिएको छ ।
नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिका कुमारीको शव शुक्रबार दिउँसो उनी बसेकै कोठाको बाथरुममा फेला परेको थियो ।
चन्द्रिकाको हत्या २२ वर्षीय प्रेमीले नै गरेको भन्दै प्रहरीले खोजी तीव्र बनाएसँगै आइतबार राति उनको पनि शव फेला परेको प्रहरीले जनाएको छ ।
नर्सको हत्या गरेको कोठा नजिकै रहेको होटल फाइनको कोठा नम्बर १०२ मा झुण्डिएको अवस्थामा शिवशंकरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सिराहको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स चन्द्रिका कुमारी नोबेल मेडिकल कलेजमा कार्यरत थिइन् । उनका प्रेमी शिवशंकर वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । उनी २६ फागुनमा स्वदेश फिर्ता भएका थिए ।
काठमाडौंबाट उनी सिराहास्थित घर नपुगी सीधै विराटनगरमा प्रेमिका चन्द्रिकाको घरमा पुगेका थिए । २९ फागुनमा विराटनगर आएका उनी केही दिन त्यही बसे । त्यहाँ उनीहरूबीच विवाद भएको थियो ।
बिहीबार दिउँसो शिवशंकरले चन्द्रिकाको हत्या गरेर आफ्नो सुटकेश लिएर निस्किए ।
शुक्रबार दिउँसो चन्द्रिकाको साथीको ह्वाट्सएप नम्बरमा नयाँ नम्बरबाट चन्द्रिकाको हत्या गरिदिएको भन्दै फोटो आयो ।
प्रहरीका अनुसार हृवाटसपमा म्यासेज गर्ने नम्बरमा अमिन धानुक नाम लेखिएको थियो । धानुक पनि मृतकका प्रेमी हुन् ।
धानुकको नाम देखिएपछि प्रहरी अनुसन्धान उनीमाथि पुग्यो । तर, उक्त नम्बर धानुकसँग रहेको देखिएन । विदेशबाट फर्किएका शिवशंकरको नाममा सिम देखियो । घटना मोड्न अर्कै व्यक्तिको नाम लेखेको देखिएको प्रहरीले जनाएको छ ।