काठमाडौँ । सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन गर्ने गरी मर्मत तालिका तय गरिएको छ।
गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवक्स)मा ठूलो क्षति पुर्याएको थियो।
बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी ९डिस्याण्डर० र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट)मा ठूलो क्षति पुगेको थियो।
दुईवटा डिस्याण्डरमध्ये बायाँतर्फको डिस्याण्डरको मर्मतसम्भार आगामी पुस १० गतेभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने तालिका तय गरिएको हो।
यसका लागि आंशिक रुपमा क्षति पुगेको डिस्याण्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिने छ। यसैगरी, कल्भर्टको भित्ता र सिलिङमा देखिएका चिराहरुको ग्राउटिङ गर्ने काम समानान्तर रुपमा अगाडि बढाइनेछ। दायाँतर्फको अर्को डिस्याण्डर मर्मत र हाल सतहमा रहेको कन्ट्रोल रुमलाई भूमिगत बनाउन डिजाइन गरी पुनर्निर्माण प्रक्रिया तत्काल अगाडि बढाइने छ।
यो काम आगामी वर्षायाम सुरु हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य तय गरिएको छ। वर्षाले क्षति पुगेको आयोजनाको विद्युत् प्रवाह गर्ने प्रसारण लाइनको एउटा टावरको मर्मतसम्भार सकिएको छ।
आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर सञ्चालक समितिका अध्यक्षसमेत रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनी सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत ९सिइओ०सहितको टोलीले बुधवार आयोजनाको स्थलगत अनुगमन गरी हाल भइरहेको मर्मतसम्भारको जानकारी लिएको थियो।
टोलीबाट आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरी पुस १० भित्र विद्युत् उत्पादन सुरु गर्ने र त्यसको १५ दिनभित्रमा विद्युत् बढी माग हुने पिक समयमा चलाउने गरी मर्मत सम्भार सम्पन्न गर्ने गरी समय तालिका तय गरिएको छ।