सुन तस्करीको प्रतिवेदन कार्यान्वयन हुने, तस्करीलाई उन्मुक्ति दिने सीआईबी प्रमुख फेरिए

0 Shares

काठमाडौं । सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमक्ष आफ्नो प्रतिवेदन पेश गरेको थियो ।

प्रतिवेदन अध्ययन गरी तत्काल कार्यान्वयनमा लैजाने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकपछि जानकारी दिइन् । त्यसैगरी बैठकले दुई जना प्रहरी अतिरिक्त महानिरीक्षकको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ ।

मन्त्री शर्माका अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी प्रधान कार्यालयबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यलाई सीआईबीबाट प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरुवा गरिएको छ ।

सीआईबीमा बज्राचार्यले नेतृत्व गर्दा गम्भीर भएर अनुसन्धान नगरी पूर्वराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई उन्मुक्ति दिएको सुन जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ । बिहीबार बुझाएको प्रतिवेदनमा उनीविरुद्ध अनुसन्धान नगरी सीआईबीले उन्मुक्ति दिएको निष्कर्ष निकालेको थियो ।

सम्बन्धित समाचार