काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । सूचना तथ सञ्चार पृथवी सुब्बा गुरुङले मन्त्रीपरिषद्को बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई मनोनीत गरेको जानकारी दिए ।
अध्यक्ष सिफारिस समितिले बोर्डकै दुई कार्यकारी निर्देशक नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठसहित उनलाई पनि सिफारिस गरेको थियो ।
तीन जनामध्ये सोमबारको मन्त्रिपरिषद् बैठकले व्यावसायिक पृष्ठभूमिका श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो । उनले यसअघि नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समेत रहेर जिम्मेवारी निर्वाह गरेका थिए । स्याङ्जाका स्थायी बासिन्दा श्रेष्ठ विभिन्न वित्तीय संस्थामा सञ्चालक रहेर पनि काम गरेका छन् ।
२०८० पुस २० मा तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि बोर्ड नेतृत्वविहीन थियो ।
त्यसपछि सरकारले नियुक्तिका लागि योजना आयोगका उपाध्यक्ष संयोजक रहनेगरी सिफारिस समिति गठन गर्यो । गठित सिफारिस समितिले फागुनमै अध्यक्ष पदका लागि आवेदन खुलाएको थियो । १९ जनाको आवेदन परेकामा समितिले ५ जनालाई सर्टलिस्टमा पारेको थियो ।
नेप्सेका सीईओ कृष्णबहादुर कार्की, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चीरञ्जीवी चापागाईं, सन्तोषनारायण श्रेष्ठ तथा बोर्डका दुई कार्यकारी निर्देशक डा। नवराज अधिकारी र मुक्ति श्रेष्ठ सर्टलिस्टमा परेका थिए ।
सर्टलिस्टमा परेकामध्ये दुई जना मुक्तिनाथ र सन्तोषनारायणले असारको पहिलो साता नै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका थिए । तर, बाँकी तीनजना अधिकारी, कार्की र चापागाईंलाई अर्थ मन्त्रालयले दुई पटक अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिका लागि बोलाएको थियो । त्यसमा तीनै जना अनुपस्थित भए ।
सर्टलिस्टमा परेका दुई जनाले मात्रै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेपछि सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थिएन । कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने व्यवस्था धितोपत्र सम्बन्धी ऐनमा छ ।