बुधबार नेप्से २०.४१ अंकले घट्दा कारोबार भने बढ्यो

0 Shares

काठमाडौँ । बुधबार वाणिज्य बैंकहरुले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेपनि त्यसले शेयर बजारमा प्रभाव पार्न नसकेको देखिएको छ। बैंकहरुको सकारात्मक वित्तीय विवरणका बाबजुद शेयर बजारमा भने गिरावट देखिएको छ।

बुधबार नेप्से सूचक २०।४१ अंकले घटेर २६४५.३९ विन्दुमा झरेको छ भने कारोबार रकम भने बढेको छ। बुधबार ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार ८५३ रुपैयाँ बराबरको १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता शेयर खरिदबिक्री भएको छ।

बैंकहरुको वित्तीय विवरण प्रकाशन पछि शेयर बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको थियो तर बैंकहरुले आम्दानी बढाउन नसकेको र राष्ट्र बैंकको सहुलियतले मात्रै नाफा बढाएको विवरण सार्वजनिक गरेपछि शेयर बजारमा बिक्रीकर्ता हाबी भएका हुन।

बुधबार कारोबारमा आएका १३ उपसमूहमा फाइनान्स र व्यापार बाहेक सबै उपसमूहको सूचक नकारात्मक देखिएको छ जसमा बैंकिंग उपसमूह सबैभन्दा धेरै १.७० प्रतिशतले घटेको छ।

बुधबार आइसिएफसी फाइनान्सको सबैभन्दा धेरै ४३ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ भने कुमारी बैंकको २६ करोड ९७ लाख र साहस उर्जाको २६ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

कारोबारमा आएका कम्पनीहरुमध्ये बुधबार आइसिएफसी फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने समृद्धि फाइनान्सको ९.९३ प्रतिशत र मञ्जुश्री फाइनान्सको ६.६७ प्रतिशतले बढेको छ।

यता महुली लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.२८ प्रतिशतले घटेको छ भने हिमालयन बैंकको ४।०७ प्रतिशत, सिटिजन्स बैंकको ३.९७ प्रतिशत र ग्रिन भेन्चर्सको ३.९३ प्रतिशतले घटेको छ।

सम्बन्धित समाचार