प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थुप्रिँदै रकम, कसले कति दिए ?

0 Shares

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनीसहित वित्तीय संस्थाले सहयोग रकम प्रदान गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग रकम हस्तान्तरण गरिएको हो । छिमेकी भारतको सबैभन्दा ठूलो जलविद्युत् कम्पनी राष्ट्रिय हाइड्रोपावर कर्पोरेसन (एनएचपीसी) लिमिटेडका वित्त निर्देशक आरपी गोयलबाट एक करोड, अरुण तेस्रो जलविद्युत् आयोजना लिमिटेडका प्रमुुख कार्यकारी निर्देशक प्रशान्त शर्माबाट एक करोड सहयोग प्राप्त भएको छ ।

यस्तै, प्रभु बैंकका अध्यक्ष देवीप्रसाद भट्टचनबाट एक करोड र प्राइम कमर्सियल बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठबाट ३१ लाखको चेक हस्तान्तरण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रभु इन्सुरेन्स लिमिटेडका अध्यक्ष राजेन्द्र मल्लबाट २५ लाख, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सका अध्यक्ष शिक्षा भट्टचनबाट २५ लाख र प्रभु क्यापिटलका अध्यक्ष एलपी भानु शर्माबाट २५ लाखको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ ।

आइतबार मात्रै कोषमा १० करोड २६ लाख सहयोग प्राप्त भएको थियो । आइतबार आइएमई ग्रुपबाट पाँच करोड हस्तान्तरण भएको थियो ।

यसैगरी नेपाल बैंक लिमिटेडबाट दुई करोड, निर्माण व्यवसायी विकास परिषदबाट एक करोड, एनएमबी बैंकबाट ५१ लाख, नेपाली कांग्रेसबाट ५० लाख, नेकपा एमालेबाट ५० लाख, नेपाल इन्स्योरेन्सबाट ५० लाख र मेटलाइफ इन्स्योरेन्सबाट २५ लाख सहयोग प्राप्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सहयोग रकम बुझ्दै प्रधानमन्त्री ओलीले हालैको बाढी पहिरो र डुबानबाट प्रभावितलाई राहतका लागि कोषमा सहयोग गरेकामा सम्बद्ध सबैलाई धन्यवाद दिए ।

यसअघि सरकारले कोषमा सरकारको तर्फबाट एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । यसपछि विभिन्न संघ संस्थाले सहयोग गर्दै आएको हो ।

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट ठूलो जनधनको क्षति भएपछि पीडितका लागि कोषमा सहयोग जुटाउन सरकारले पहल गरेको थियो ।

 

सम्बन्धित समाचार