काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा स्कुटर चालकको मृत्यु हुने गरी भएको दुर्घटनामा पक्राउ परेका ट्रक चालक कारागार चलान भएका छन् ।
मध्यपुर थिमि नगरपालिका ३ मा भएको दुर्घटनामा ना ६ ख २१७३ नम्बरको ट्रकका चालक सर्लाहीको मलंगवा नगरपालिका २ घर भएका मलङ सतेन्द्र श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
उनीविरुद्ध यातायात व्यवस्था तथा सवारी ऐन २०४८ को दफा १६१ को उपदफा (२)को कसुरमा मुद्दा दर्ता गरिएको थियो । यसअन्तर्गत ज्यान मार्ने मनसाय तथा उद्देश्य नराखी लापरबाही तरिकाले सवारी चलाउँदा कसैको मृत्यु भए कसुरको मात्रा हेरी २ देखि १० वर्षसम्म कैद हुने व्यवस्था उल्लेख गरिएको छ ।
साउन ३१ गते दिउँसो श्रेष्ठले चलाएको ट्रकले ठक्कर दिँदा बा ४९ प ८९४४ नम्बरको स्कुटरका चालकको मृत्यु भएको थियो । मृत्यु हुनेमा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ४ घर भई काठमाडौँ कपनमा बस्दै आएका ६५ वर्षका उत्तम कोइराला थिए ।
घटनामा स्थानीयबासीले ट्राफिकले जथाभावी चेक गर्दा दुर्घटना भएको भन्दै प्रदर्शन गरेका थिए । घटनाको छानबिन गर्न भक्तपुरका सहायक सीडीओ डोरेन्द्र निरौला र प्रहरीले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसपी प्रजित केसी नेतृत्वमा दुई समिति बनेका थिए ।
दुवै समितिले ट्राफिकले दुर्घटनामा परेका सवारी नरोकेको निष्कर्ष निकाल्दै ट्राफिकको गल्ती नरहेको जनाएको थियो ।