राष्ट्र बैंकले दशैँमा नयाँ नोटको सट्टा सुकिला नोट दिने

0 Shares

काठमाडौं । हरेक वर्ष दसैँमा नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैंकले यस पटक सुकिला नोट मात्र दिने भएको छ ।

दसैँ तिहार लक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैंले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ ।

खर्चको व्यवस्थापन गर्न राष्ट्र बैंकले नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाएको थियो । राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले पुराना सुकिला नोट सटही गरिदिने जानकारी दिए ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्न यस्तो निर्णय गरेको राष्ट्र बैंकले जनाएको छ । दसैँमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई एक वर्षअघि बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैंकमार्फत सटही व्यवस्था मिलाइने सहायक प्रवक्ता पोखरेलले बताए ।

दसैँ तिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैंकले यस पटक सोही नोट सटहीको सुविधा दिने छ ।

यस पटक पनि प्रतिव्यक्ति १८ हजार पाँच सयको हाराहारीमा नोट सटही गरिने जनाएको छ । राष्ट्र बैंकका अनुसार पाँच वर्षको औसत हेर्दा नयाँ नोट छपाइका लागि एक अर्ब ३० करोड रुपैयाँ बर्सेनी खर्च हुँदै आएको छ ।

 

सम्बन्धित समाचार