साउदी सुपर कप: आज उपाधिका लागि अल नासर र अल हिलाल भिड्दै

0 Shares

काठमाडौँ । साउदी अरबको सुपर कप फुटबल प्रतियोगितामा आज फाइनल खेल हुँदैछ । जहाँ उपाधिका लागि दुई कट्टर प्रतिस्पर्धी टिमहरू अल नासर र अल हिलाल भिड्दैछन् । नयाँ सिजनको पहिलो प्रतियोगितामै यी दुई क्लब आमनेसामने हुन लागेको हुन् ।

त्यो पनि फाइनल खेलमा । गत सिजन अल नासर उपाधिमा निल बनेको थियो भने अल हिलालले ट्रिबेल उपाधि जितेको थियो । अल हिलाल त्यही टिम हो जसले अल नासरलाई सिजनभरमा एउटा पनि उपाधि जित्न दिएको थिएन । आज फाइनल खेल हुँदा यी दुवै टिम सिजनको पहिलो उपाधि चुम्ने दाउमा हुनेछन् । तर, ठूलो दबाबमा अल नासर हुनेछ । गएको सिजन शून्य उपाधि बनेको र अल हिलाल नै त्यसको बाधक रहेको अवस्थामा आज त्यही टिमविरुद्ध फाइनल खेल हुँदा अल नासर गत सिजनको बदला लिने दाउमा हुनेछ ।

गत सिजन अल हिलालले अल नासरलाई किङ कप, सुपर कप, घरेलु लिग सबैमा निराश बनाएको थियो । बितेको सिजनमा ट्रिबेल उपाधि जितेको अल हिलाल आजको फाइनल खेल हुँदा अल नासरलाई हराउँदै पहिलो प्रतियोगिताबाटै उपाधि चुम्दै नयाँ सिजनको सुरुआत गर्ने योजनामा छ । आजको खेल हुँदा अल हिलालका सबै प्रमुख खेलाडी टिममा उपलब्ध छन् । तर, अल नासरका एक प्रमुख मिडफिल्डर मार्सेलो ब्रोजोभिच रातो कार्डका कारण प्रतिबन्धमा छन् । उनी नहुँदा उपाधि जित्ने खेलमा अल नासरलाई ठूलो अभाव खड्किन सक्छ । सेमिफाइनलमा ब्रोजोभिले इन्जुरी समयमा रातो कार्ड पाएका थिए ।

सेमिफाइनल खेलमा अल हिलालले अल अहलीमाथि पेनाल्टी सुटआउटमा ४–१ को जित निकालेको थियो भने अल नासरले अल ताओउनमाथि २–० को जित निकालेको थियो । तुलानात्मक रूपमा सेमिफाइनलमा अल नासरभन्दा अल हिलालले बलियो प्रतिस्पर्धीलाई हराएर आएको छ । अल नासर र अल हिलालले खेलेको पछिल्लो खेल गएको सिजनमा किङ कपको फाइनल खेलमा थिए । सो खेलमा अल हिलालले पेनाल्टी सुटआउटमा ५–४ को जित निकाल्दै उपाधि जितेको थियो । सो फाइनलपछि यी दुई टिमको भेट फेरि फाइनल खेलमै भएको हो । यसपटक सुपर कपको उपाधि भिडन्तमा यी टिम भिड्नेछन् ।

सम्बन्धित समाचार