जो विमान छुटेपछि रिसाए, दुर्घटनापछि भने- भाग्यले बाँचे

0 Shares

काठमाडौं । ब्राजिलको राजधानी साओ पाउलोमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु भएको छ । विमानमा ५७ यात्रु र चार चालक दलका सदस्य सवार थिए ।

विमान सञ्चालन गर्ने कम्पनी भोपास एयरलाइन्सका अनुसार दुई इञ्जिन भएको टर्बोप्रप विमान ब्राजिलको दक्षिणी सहर परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारुल्होसका लागि उडेको थियो ।

एटीआर ७२-५०० विमान आकाशमा अनियन्त्रित भई घुम्दै सीधै तल खसेको देखिन्छ । विमान खसेको वरपर घरहरू देखिएका छन् । तर, एउटा घरमा मात्रै थोरै क्षति पुगेको देखिएको छ । जमिनमा भएका सबै सकुशल रहे ।

यसैबीच दुर्घटनाग्रस्त विमानको टिकट लिएका केही यात्रु विमान चढ्न छुटेसँगै बाँचेका छन् । तीमध्ये एड्रियानो एसिसले आफूलाई भाग्यमानी भएको बताए ।

‘विमान कहिले उड्छ भन्नेबारे केही जानकारी थिएन, यो कुरा बताउन काउन्टरमा कोही थिएनन्,’ उनले भने, ‘त्यहाँ बसेका केही व्यक्तिहरूसँग मैले यस विषयमा बहस पनि गरेको थिएँ, म बाँचेकोमा भगवानलाई धन्यवाद दिन्छु ।’

अर्का यात्रु जोस फेलिपले सुरुमा लाताम जाने टिकट बुकिङ गरेको बताउँदै लाताम विमानस्थल बन्द भएकाले नचढेको बताए ।

एयरपोर्ट पुग्दा उनलाई बोर्डिङ लिमिट सकिएको बताइयो । त्यहाँ बसेका अधिकारीसँग उनले पनि झगडा गरे । तर, अधिकारीहरूले उनलाई विमानमा चढ्न दिएनन् ।

‘यो एउटा डरलाग्दो अनुभव हो, म अझै काँपिरहेको छु, यो क्षणको साक्षी म र भगवान् मात्र हौँ,’ उनले भने ।

सम्बन्धित समाचार