प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै, ७७ सांसदले विपक्षीमा मतदान गर्ने

0 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आज विश्वासको मत लिँदै छन् । विश्वासको मतको कार्यसूची अघि बढाइदिन प्रधानमन्त्रीले साउन २ गते संसद्मा पत्राचार गरेका थिए ।

विश्वासको मत हासिल गर्न प्रतिनिधिसभामा उनले कम्तीमा १३८ मत पाउनु पर्छ । असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका हुन् ।

वर्तमान सरकारमा सहभागी दलहरूको अंक गणित हेर्दा प्रधानमन्त्रीले सहज विश्वासको मत पाउने छन् । अहिले सरकारमा कांग्रेस र एमालेसहित जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी छ ।

सरकारमा सामेल दलमध्ये कांग्रेसका ८८ सदस्य छन् । एमालेका ७८ सदस्य हुँदा सांसद टोपबहादुर रायमाझी निलम्बनमा छन् । मताधिकार प्राप्त सङ्ख्या ७७ मात्र छ । सरकारमा सहभागी जसपाका सात, लोसपाका चार, जनमत पार्टी, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टीका सदस्यले पनि ओलीलाई विश्वासको मत दिने छन् ।

सदनमा प्रतिनिधित्व गर्ने चार दलले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले विपक्षमा मतदानको निर्णय गरेका छन् ।

यी दलको पक्षमा संसदमा ७७ सदस्य छन् । यसअघि तीन वटा दलले निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पक्षमा विश्वासको मत दिएका थिए ।

सम्बन्धित समाचार