ओलीको विपक्षीमा ७७ सांसद, यी दलहरूले विश्वासको मत नदिने

0 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा बैठकमार्फत विश्वासको मत लिने तयारी गरेका छन् । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

संसदका दुई ठूला दलहरू मिलेर सत्ता गठबन्धन गरेसँगै विश्वासको मत पाउने भएपछि आफूहरूले विपक्षीमा रहने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । सत्ता टिकाउन आफूहरूको मत आवश्यक नरहेको उनको तर्क थियो ।

यसअघि नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादीले ओलीको विपक्षीमा मतदान गर्ने निष्कर्ष निकालेका थिए । शुक्रबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, रास्वपा सभापति रवि लामिछानेले विपक्षी दलका नेताहरुले संविधान विपरीत प्रधानमन्त्री नियुक्त गरिएको निष्कर्ष निकालेको दाबी गरेका थिए ।

बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि ७६ (३) अनुसार नयाँ सरकार गठन हुनु पर्नेमा धारा ७६ को उपधारा २ बाट नै सरकार गठनको आह्वान संविधान विपरीत रहेको बताए ।

भोलि प्रधानमन्त्री ओलीको पक्षमा एमालेसहित सत्ता साझेदारी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत दलहरू रहेका छन् । यी दलका सांसदहरूले ओलीलाई विश्वासको मत दिँदा विश्वासको मत पाउने पक्का छ ।

यता, ओलीको विपक्षीमा माओवादी, रास्वपा, एकीकृत समाजवादी र राप्रपा रहने भएको छ । यी चार दलबाट प्रतिपक्षीमा बस्ने सांसदको संख्या ७७ जना पुगेका छन् । यसबाहेक प्रभु साहको पार्टीसहित स्वतन्त्र सांसद बढ्न सक्ने छ ।

सम्बन्धित समाचार