काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही जनकारवाही गर्न निर्देशन दिएका छन् ।
आजपा निकटको आईटी आर्मीको तेस्रो स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो निर्देशन दिएका हुन् ।
सरकारको मुख्य नेतृत्व भ्रष्टाचारमा लागेकोले कुनै पनि सरकारी निकायबाट भ्रष्टाचारीलाई कारवाहीको अपेक्षा गर्नु भनेको “गोरुबाट दुध पाउँने कल्पना गरे जस्तै हो” भएको टिप्पणी उनको छ ।
‘देशमा भ्रष्टाचार बढदै गएको कारण मुलुकमा विकास रोकिएको यथार्त हामी सामु छ, नेपालको सम्पती लुटेर दिन दहाडै विदेश लगिदै छ, भ्रष्टाचारको काण्डै काण्डले देश बर्बाद हुँदै छ,’ उनले भने, ‘सरकारी निकायले भ्रष्टाचारीको अगाडि निरीह छ, केही गर्न सकिरहेको छैन, भ्रष्टाचारीलाई राज्यकै संरक्षण छ ।’
गिरीबन्दु टी–स्टेटदेखि ललिता निवासलगायतका ठाउँमा ठूला भनिएकाकै संलग्नतामा भ्रष्टाचार भएको प्रमाणित भए पनि त्यस्तालाई कारवाही गर्नुको साटो पुरस्कृत गर्ने अवस्थाको अन्त्य आवश्यक रहेको उनले बताए ।
सरकार, अख्तियार दुरुपयोग अनुसन्धानले भ्रष्टाचारीलाई कारवाही गर्न नसकेको बताउँदै साहले अहिले सरकारमै भ्रष्टहरुको बाहुल्यता भएको टिप्पणी गरे ।