ओली नेतृत्वको सरकारमा आउन माधवलाई देउवाको प्रस्ताव

0 Shares

काठमाडौं । नेपाल कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् ।

कांग्रेसले नेकपा एमालेसँग सत्ता गठबन्धन गरेसँगै केपी शर्मा ओली प्रधानमन्त्री भएपछि देउवाले नेपाललाई सरकारमा आउन प्रस्ताव गर्दै आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सरकारमा ल्याउन खास बल नगरे पनि देउवाले नेपाल सरकारमा आउन बारम्बार आग्रह गरेको एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले जानकारी दिए ।

‘कांग्रेस सभापति देउवाले एकीकृत हामीलाई सरकारमा आउन आग्रह गरिरहनु भएको छ, एकीकृत समाजवादी सरकारमा आए हुन्थ्यो भन्ने छ,’ उनले भने, ‘तर, एकीकृत समाजवादी सरकारमा जादैन। प्रतिपक्षको सशक्त भूमिका निर्वाह गर्छ, पार्टी बलियो बनाउन लाग्ने छौँ ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार बाहिरिएसँगै एकीकृत समाजवादी सत्ताविहीन बनेको हो । यसैलाई ध्यान दिँदै तत्काल सरकारमा जानेबरे नसोचिएको चौधरीले बताए ।

प्रधानमन्त्री ओली एकीकृत समाजवादीलाई सरकारमा ल्याउन सकारात्मक नभए पनि एमालेका दोस्रो तहका नेताहरूले पनि अध्यक्ष नेपालसँग छलफल तीव्र बनाएका छन् ।

एकीकृत समाजवादी सरकारमा आए संविधान संशोधनसहित प्रतिपक्षी मोर्चा कमजोर बनाउन सकिने एमाले दोस्रो तहका नेताको आंकलन छ । एकीकृत समाजवादी एमालेबाट विभाजन भएको पार्टी हो ।

सम्बन्धित समाचार