बंगलादेशकी प्रधानमन्त्रीको नोकरसँग साढे चार अर्बको सम्पत्ति, को-को तानिए छानबिनमा ?

0 Shares

काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको नोकरसँग तीन करोड ४० लाख डलर अर्थात चार अर्ब ५० करोडभन्दा बढीको सम्पत्ति रहेको खुलासा भएको छ ।

ढाका ट्रिब्यूनका अनुसार उक्त नोकरको नाम जहाँगीर आलम हो । उनले प्रधानमन्त्री हसिनाको घरमा पाहुनालाई पानी खुवाउँदै आएका थिए ।

जहाँगीरले हसिनाको कार्यालय र घरमा भएको कामको उल्लेख गर्दै धेरैसँग घुस लिएका थिए । काम गराइदिने बहानामा उनीसँग पैसा असुल्ने गरेको विषय बाहिर आएपछि अहिले छानबिन शुरु भएको छ ।

यो कुरा बाहिर आएपछि प्रधानमन्त्री हसिनाले तत्काल कारबाही गर्न निर्देशन दिएकी छन् । ढाका ट्रिब्युनको रिपोर्टअनुसार जहाँगीर यसअघि अमेरिका भागिसकेका छन् ।

बंगलादेशमा पूर्व सेना प्रमुख, प्रहरी अधिकारी, कर अधिकारी र धेरै सरकारी कर्मचारीको भ्रष्टाचारका मुद्दाहरू बाहिर आएका छन् । यो सूचीमा प्रधानमन्त्रीका सेवकको नाम पनि परेको हो ।

‘मेरो घरमा काम गर्ने मान्छे आज करोडौंको सम्पत्तिको मालिक छ, उनले यति पैसा कहाँ कमाए ?,’ प्रधानमन्त्री हसिनाले भनिन्, ‘एक साधारण बंगलादेशीले यति धेरै सम्पत्ति जम्मा गर्न १३ हजार वर्ष लाग्न सक्छ, सरकारले ख्याल गर्नु पर्छ, यी विषयमा गम्भीरतापूर्वक छानबिन हुन्छ ।’

वास्तवमा विश्व बैंकका अनुसार १७ करोड जनसंख्या भएको बंगलादेशमा प्रतिव्यक्ति आय दुई हजार ५२९ अमेरिकी डलर छ । शेख हसिनाका नोकर भ्रष्टाचारमा संलग्न रहेको खुलासा भएदेखि प्रतिपक्षले सरकारलाई घेरेको छ ।

बंगलादेशी नेसनलिस्ट पार्टी (बीएनपी)का प्रवक्ता वाहिदुज्जमानले हसिनाको नोकरसँग यति धेरै पैसा हुँदा, उनको मालिकको कति छ ? भनेर अनुमान गर्न नसकिने बताए । उनले नोकर पक्राउ नपरेको र उनलाई भर्खरै जागिरबाट हटाइएको दाबी गरे ।

गत जनवरीमा प्रधानमन्त्री हसिना चौथो पटक सत्तामा आएपछि भ्रष्टाचारका धेरै घटना बाहिर आएका छन् । बंगलादेशको भ्रष्टाचार विरोधी आयोगले हालै देशका पूर्वराष्ट्रिय प्रहरी प्रमुख बेनजिर अहमदविरुद्ध अनुसन्धान सुरु गरेको छ ।

कुनै समय हसिनासँग नजिक रहेकी बेनजीरमाथि करोडौंको सम्पत्ति रहेको आरोप छ । जुन उनले भ्रष्टाचार गरेर जम्मा गरेका छन् । यसैबीच बंगलादेशका स्थानीय पत्रिकाले देशका पूर्व सेना प्रमुख अजिज अहमदमाथि भ्रष्टाचारको आरोप पनि लगाएका छन् ।

उक्त रिपोर्ट बाहिर आएपछि भ्रष्टाचार विरोधी आयोगले अजिजको धेरै सम्पत्ति जफत गरेको थियो । यसबाहेक उनको बैंक खाता पनि रोक्का गरिएको छ ।

सम्बन्धित समाचार