काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहित साना दलको समर्थनमा उनी प्रधानमन्त्री बनेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार साँझ संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री पदमा दाबी पेश गर्न दुई वा सोभन्दा बढी दललाई आह्वान गरेका थिए ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेस गर्ने समय सकिएपछि अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त प्रधानमन्त्री ओलीले भोलि बिहान मात्रै शपथ ग्रहण गर्ने भएका छन् ।
राष्ट्रपति कार्यालयले सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथको तयारी गरेको हो । यस क्रममा प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ गराउन सत्तारुढ दुई ठूला दल कांग्रेस र एमाले मन्त्री छनौटको तयारीमा जुटेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभाका १६६ सदस्यको समर्थन भएको उल्लेख गरेका छन् । सोहीअनुसार उनीहरूले राष्ट्रपति पौडेलसमक्ष शुक्रबार राति प्रधानमन्त्री पदमा दाबी पेस गरेका थिए ।
यसअघि ओली २०७२ साल असोज २४ गते पहिलोपल्ट प्रधानमन्त्री निर्वाचित भएका थिए । व्यवस्थापिका संसदमा ५९७ सदस्यमध्ये ओलीले ३३८ मत प्राप्त गरेका थिए । योपटक उनी नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र मधेसी जनअधिकार फोरमसहित अन्य १३ दलले समर्थन गरेका थिए ।
यस्तै, ०७४ को प्रतिनिधिसभा निर्वाचनपछि सबैभन्दा ठूलो दलको हैसियतमा उनी ३ फागुनमा दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएका थिए । कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने भएको छ । यस्तै रमेश लेखक, आरजु राणालगायत मन्त्री बन्ने चर्चा रहेको छ ।
प्रधानमन्त्री अोलीलाई कांग्रेसबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी (नाउपा)सहितको साथ रहेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार संसद बैठकमा विश्वासको मत नपाएपछि ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।
प्रचण्डको पक्षमा माओवादीसहिछ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी पार्टीले विश्वासको मत दिएका थिए । दुई ठूला दल सरकार जाने भएसँगै यी तीन दल प्रतिपक्षीको भूमिकामा रहेको छ ।