काठमाडौं । केपी शर्मा ओली प्रधानमन्त्री बन्ने पक्का भएसँगै सत्ता साझेदारी दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रीको नाम टुंग्याउने गृहकार्य गरेको छ ।
कांग्रेस सभापति शेर बहादुर देउवाले संस्थापन इतर समूहका नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापासहित आफ्नै समूहका प्रभावशाली नेतासँग छलफल गरी मन्त्री चयनलाई तीव्र बनाएका छन् ।
सरकारले राम्रो परिणाम निकाल्नु पर्ने दबाबबीच पार्टीभित्र सन्तुलन मिलाएर सरकारमा प्रतिनिधित्व गराउने देउवाको तयारी छ । सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड तय गर्न केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसेको छ ।
सभापति देउवाले यसपटक १४ औँ महाधिवेशनमा आफूलाई साथ दिएका पूर्व उपसभापति प्रकाशमान सिंहको नेतृत्वमा कांग्रेसलाई सरकारमा पठाउने तयारीमा छन् ।
सिंह भौतिक पूर्वाधार वा शहरी विकास मन्त्रालय सम्हाल्दा कांग्रेसबाट रमेश लेखले गृह र देउवा पत्नी आरजु राणाले परराष्ट्र सम्हाल्ने निश्चित छ । यता कांग्रेस सहमहामन्त्री जीवन परियार र अजय चौरसिया मन्त्री बन्ने निश्चित भइसकेको छ ।
एमालेसँग भएको सहमतिअनुसार कांग्रेसले ओली नेतृत्वको सरकारमा बढीमा १० मन्त्रालय पाउने छ । अहिलेसम्म टुंगिएका पाँच नाममध्ये सहमहामन्त्री जीवन परियार मात्रै संस्थापन इतर समूहका हुन् । बाँकी चार जना देउवाकै परिवार र निकटका हुन् । यद्यपि, मन्त्रीको नाम कार्य सम्पादन समितिले टुंग्याउने छ ।
यस्तै, संखुवासभाका सांसद दिपक खड्का, हृदयराम थानी, अर्जुननरसिंह केसी, किशोर सिंह राठौर, डलर अर्बपति विनोद चौधरी, उदय शमशेर राणा दौडमा रहेका छन् ।
यता, महामन्त्री गगन थापाले आफूको तर्फबाट प्रदीप पौडेल, शेखर समूहबाट डा. चन्द्र भण्डारी दौडधुपमा रहेका छन् । तर, बाँकी मन्त्रीको नाम टुंगोमा पुर्याउन कांग्रेसले थप छलफल गर्ने जनाएको छ ।