काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू मन्त्री नबन्ने प्रष्ट पारेका छन् ।
बिहीबार विराटनगरमा पत्रकारसँग कुराकानी गर्दै महामन्त्री थापाले आफू पार्टीकै काममा व्यस्त रहेकाले सरकारमा नजाने बताएका हुन् । उनले पार्टी सभापतिलाई आफू सरकारमा नजानेबारे जानकारी गराएको बताए ।
‘सांसदको रुपमा मैले क्रियाशील भएर यो सरकारलाई समर्थन गर्ने पनि, हाम्रो शेखर कोइरालाले अघि भन्नु भएजस्तो कांग्रेस र एमाले मिलेर धेरै शक्ति आर्जन गर्दै गर्दा सरकारले शक्तिको दुरुयोग गर्लान् कि भनेर सचेत गराउनु पर्ने काम प्रतिपक्षले मात्रै होइन, सत्ता पक्षले पनि गराउनु पर्छ,’ उनले भने ।
यसैबीच उनले थपे, ‘त्यसैले सत्ता पक्षको सांसदहरुको बेन्चको पहिलो हरफमा बस्छु म, त्यो पहिलो रोबाट सरकारलाई आवश्यक कुराको समर्थन गर्ने, परेको बेला सरकारलाई प्रश्न पनि गर्ने, जवाफदेही बनाउने, मेरो भूमिका सांसदको रुपमा रहन्छ ।’