काठमाडौं । भारतको उत्तरी राज्य हरियाणामा बुधबार आन्दोलित किसानमाथि प्रहरीले रबरको गोली र अश्रु ग्यास प्रहार गर्दा युवक किसानको मृत्यु भएको छ । केही घाइते भएको अधिकारीहरूले बताएका छन् ।
किसानको मृत्यु राष्ट्रिय राजधानी नयाँ दिल्लीबाट करिब १२१ किलोमिटर टाढा पञ्जाब र हरियाणाको बीच सीमाविन्दु खनौरीमा भएको हो । प्रहरीका अनुसार २० वर्षीय शुभकरण सिंह प्रहरी कारबाहीमा मारिएका हुन् । यद्यपि, हरियाणा प्रहरीले उक्त आरोपलाई अस्वीकार गरेको छ ।
“खनौरीबाट तीन जना बिरामी हामीसँग आएका छन्, तिनीहरूमा एक जनाको यहाँ आइपुग्दा मृत्यु भएको छ, गोली लागेको जस्तो देखिएका अन्य दुईको अवस्था गम्भीर छ तर यसको पुष्टि गर्न सकिँदैन,” पटियालाका राजेन्द्र अस्पतालका वरिष्ठ चिकित्सा अधिकारी रेखीलाई उद्धृत गर्दै भनिएको छ, “यहाँ आइपुग्दा मरिसकेका व्यक्तिको टाउकोमा गोली लागेको थियो, तर गोलीको आकारजस्तो अधिक जानकारीको पुष्टि शव परीक्षणपछि मात्र थाहा हुन सक्छ ।”
पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले पनि मृत्युको पुष्टि गरे । प्रहरीले किसानको आन्दोलन रोक्नका लागि अम्बाला जिल्ला नजिकै अर्को सीमा विन्दु शम्भुमा अश्रु ग्याससहित रबरको गोली चलाएको छ ।
जारी विरोध प्रदर्शन अन्त्य गर्ने प्रस्तावका रूपमा आगामी पाँच वर्षका लागि न्यूनतमा सुरुक्षा मूल्यमा किसानबाट दाल, मकै र कपासको बाली खरिद गर्ने सरकारको प्रस्तावलाई अस्वीकार गरेपछि किसानले बुधबार नयाँदिल्लीमा पुनः आन्दोलन सुरु गरेका छन् ।
भारतको संघीय सरकारले बुधबार किसानलाई शान्ति कायम राख्न आग्रह गर्दै समाधानका लागि पाँचौँ चरणको वार्ता गर्न तयार रहेको जनाएको छ ।
भारतमा यसै वर्ष आसन्न आम निर्वाचन र प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको अवसर खोजिरहेका बेला किसानहरूको विरोध प्रदर्शन चलिरहेको छ ।