मुन्सेको कीर्तिमानी शतकमा सुदूरपश्चिमलाई एनपिएलको उपाधि

0 Shares

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ ।

साविक विजेता लुम्बिनी लायन्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि उचालेको हो ।

शनिबार भएको फाइनलमा लुम्बिनीलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलो पटक एनपीएलको उपाधि जितेको हो । लगातार तेस्रो सिजन फाइनल खेलेको सुदूरपश्चिमले उपाधि जितेसँगै लगातार तेस्रो सिजन फरक टिमले एनपीएलको उपाधि जितेका छन् ।

पहिलो सिजनको फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भएको थियो। दोस्रो सिजन लुम्बिनीसँग नै ६ विकेटको हार व्यहोरेको थियो ।

उपाधिका लागि लुम्बिनीले सुदूरपश्चिपमलाई १५६ रनको लक्ष्य पेश गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिपमले विनाविकेट जित निकालेको हो।

सुदूपश्चिमका लागि जर्ज मुन्सेले कीर्तिमानी १२५ रन बनाए । यो एनपीएलमा बनेको सर्वाधिक रन हो । यस्तै, अर्का ओपनर विनोद भण्डारीले २७ बलमा ३० रनको योगदान दिए । बलिङतर्फ लुम्बिनीका कसैले विकेट लिन सकेनन् ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रन बनाएको थियो ।

लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक ३९ रनको योगदान दिए । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाउँदा निरोशन डिकवेलाले १७ बलमा २८ रन जोडे ।

त्यसैगरी डार्सी शर्टले १८ बलमा २१ रन, अली शेखले १२ बलमा २४ रन तथा सन्दीप जोराले ५ बलमा ४ रन बनाए । रुबेन ट्रम्पेलम्यान २ बलमा ४ रन बनाउँदै अविजित रहे ।

बलिङतर्फ सुदूरपश्चिमका बलर स्कट कुगेलाइनले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । यसैगरी, हेमन्त धामी, थारिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट लिएका थिए ।

सम्बन्धित समाचार