कामको खोजीमा बजार पुग्छन्, नपाएपछि निरास हुन्छन्

0 Shares

सप्तरी । राजविराज नगरपालिका ७ स्थित गजेन्द्र चोकको पूर्वपट्टि रहेको यो ठाउँ मजदुर बजारका रूपमा परिचित छ । बिहानको उज्यालोसँगै कोही साइकलमा, कोही सिटी सफारीमा त कोही पैदलै खाजाको झोला बोकेर यहाँ आइपुग्छन् । उनीहरूको साझा उद्देश्य हुन्छ- दिनभरको मजदुरी पाउनु ।

बेरोजगारी र जीविकोपार्जनको समस्याले गर्दा विभिन्न उमेर समूहका मजदुर दैनिक यहाँ आएर काम दिने साहु तथा ठेकेदारको प्रतीक्षामा बस्न बाध्य छन् । जिल्लाका विभिन्न पालिकाबाट आएका मजदुर काम पाउने आशमा यहाँ भेला हुन्छन् । तर, दिनभर पर्खंदा पनि काम पाउने टुङ्गो हुँदैन ।

रुपनी गाउँपालिका-कटैयाका रामप्रसाद यादव परिवारको छाक टार्न मजदुरी खोज्दै दैनिक यहाँ आउने गरेको बताउँछन् । उनका अनुसार काममा लैजाने ठेकेदारले मजदुरको शारीरिक अवस्था र काम गर्ने क्षमताका आधारमा छनोट गर्ने भएकाले फुर्तिला र काम गर्न सक्ने देखिनेले छिटो काम पाउने गरेका छन् ।

‘दिनहुँ काम पाइयो भने आठ घण्टा श्रम गरेर आठ सयसम्म कमाइ हुन्छ। तर, काम नपाएको दिन परिवारको छाक टार्नै समस्या हुन्छ,’ उनले भने । काम पाउने आशामा घण्टौँ प्रतीक्षा गर्नुपर्ने र काम नपाए रित्तै घर फर्कनुपर्ने बाध्यता रहेको उनले बताए ।

विष्णुपुर गाउँपालिका ६ का बद्री सदाका अनुसार घर निर्माणमा काम गर्ने मिस्त्रीले दैनिक एक हजार २०० सम्म ज्याला लिने गरे पनि मजदुरले भने कामको प्रकृति र आफ्नो क्षमताअनुसार ६०० देखि एक हजारसम्म पाउने गरेका छन् । राम्रो काम गर्दा पनि उचित ज्याला नपाएको अनुभवसमेत रहेको उनले बताए ।

मजदुर खोज्न गजेन्द्र चोक पुग्ने ठेकेदार परमानन्द साहले यहाँबाट कामदार छनोट गरेर लैजाने गरेको बताए । काम राम्रो गर्ने र नियमित आउने मजदुरलाई काम आवश्यक पर्दा फेरि बोलाउने गरिएको उनको भनाइ छ ।

‘राम्रो काम गर्ने मजदुरलाई काम रहुन्जेल नियमित बोलाउँछौँ। काममा नआउने वा नियमितता कायम नगर्नेलाई भने अर्को पटक बोलाउन कठिन हुन्छ,’ उनले भने । उनका अनुसार दक्षता र कामको प्रकृतिअनुसार मजदुरले दैनिक सात सयदेखि एक हजारसम्म ज्याला पाउने गरेका छन् ।

जिल्लामा हजारौँ मजदुर रहे पनि तोकिएको ज्यालादर व्यवहारमा कार्यान्वयन हुन नसकेको नेपाल ट्रेड युनियन मधेस प्रदेशका अध्यक्ष केदार देवले बताए । मजदुरका लागि व्यवस्थित स्थान नहुँदा कामको खोजीमा उनीहरू दैनिक चोकमा आएर उभिनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

‘करिब पाँच दशकदेखि यस ठाउँमा मजदुर कामको खोजीमा आउने गरेका छन्। तर, उनीहरूका लागि आवश्यक आधारभूत सुविधा उपलब्ध गराउन सम्बन्धित निकायको ध्यान पुगेको छैन,’ उनले भने । कामको प्रतीक्षामा बस्ने मजदुरका लागि बस्ने ठाउँलगायत सामान्य सुविधा उपलब्ध गराउन सके पनि ठूलो राहत हुने उनले बताए ।

सम्बन्धित समाचार