काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) जारी तेस्रो संस्करणको एलिमिनेटरको आजको खेलमा चितवन राइनोजले काठमान्डु गोर्खाजलाई २०५ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ थालेको चितवनले २० ओभरमा ४ विकेटको क्षतिमा २०४ रन बनाएको हो । चितवनले तेस्रो ओभरमा पहिलो विकेटमा देव खनाललाई गुमायो । उनले १५ बलमा १७ रन बनाए ।
तेस्रो ओभरमा बलिङमा आएका काठमान्डुका कप्तान करण केसी लगातार दुई विकेट लिए । उनले खनालसँगै डेविड मलानलाई आउट गरेका हुन् ।
चितवनले पावरप्लेमा २ विकेट गुमाएर ३४ रन मात्रै बनायो । आठौँ ओभरमा कामिल मिशाराले जीवनदान पाए । त्यसपछि संयमित भएका मिशाराले एनपीएल इतिहासकै उच्च स्कोर बनाए । उनी १२० रनमा नटआउट रहे ।
उनले कर्णाली याक्सका मार्क वाटको उच्च स्कोरको कीर्तिमान तोडेका हुन् । वाटले गत सिजन लुम्बिनी लायन्सविरुद्ध ११४ नटआउट रन बनाएका थिए ।
यस्तै, कप्तान रवि बोपाराले अर्धशतकीय पारी खेल्दै ४२ बलमा ५३ रन बनाए । बलिङतर्फ काठमान्डुका करण केसी र राशिद खानले दुई–दुई विकेट लिए ।