काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल पुगेको छ ।
साविक विजेता लुम्बिनीले मंगलबार पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो । जारी एनपीएलमा सुदूरपश्चिम लुम्बिनीसँग लगातार दोस्रो पटक पराजित भएको हो । उद्घाटन खेलमा लुम्बिनीसँग सुदूरपश्चिम सात विकेटले पराजित भएको थियो ।
पराजित भएसँगै सुदूरपश्चिम फाइनल पुग्न दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग खेल्न पाउने भएको छ । एलिमिनेटर खेलमा काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्दै छन् ।
सुदूरपश्चिमले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले १६.४ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले २१ रन बनाए ।
निरोसन डिकवेल्लाले सर्वाधिक ५९ रनको योगदान दिए । दीलिप नाथ १० रनमा अविजित रहे ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि लागि कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेले । उनले ५१ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५२ रनको पारी खेलेका हुन् । जारी एनपिएलमा कप्तान ऐरीको यो तेस्रो अर्धशतक हो ।
यस्तै, आज ईशान पाण्डेले ३३ बलमा ३ चौकासहित २७ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन बनाउन सकेनन् । लुम्बिनीका लागि बलिङतर्फ रुबेन ट्रम्पेलम्यान र शेर मल्लले २-२ तथा किशोर महतो र अभिशेष गौतमले १–१ विकेट लिए ।