काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम पारदर्शी रूपमा खर्च हुने र दुरुपयोग नहुने स्पष्ट पारेको छ ।
सोमबार मन्त्रालयमा नेपाली एशाेसिएशन अफ ओरेगन, अमेरिकाले कोषका लागि गरेको सहयोग रकम ग्रहण गर्दै मन्त्री पुनले बाढीपहिरोबाट क्षति भएका सडक, पुल, विद्यालय तथा अस्पतालको पुनर्निर्माण र प्रभावितलाई राहत उपलब्ध गराउन कोषको रकम खर्च भइरहेको बताए ।
विभिन्न सङ्घसंस्था तथा विदेशी निकायले गरेको अनुमानअनुसार हालैको बाढीपहिरोबाट करिब तीनदेखि चार खर्ब रुपैयाँ बराबरको क्षति भएको उल्लेख गर्दै उनले कोषमा जम्मा भएको रकमले मात्रै पुनर्निर्माणका लागि पर्याप्त नहुने बताए ।
भोटेकोशीमा आएको बाढीका कारण सडक सञ्जाल अवरुद्ध हुँदा उद्धार तथा राहत कार्यमा हेलिकप्टरको अत्यधिक प्रयोग गर्नुपरेको र त्यसमा मात्रै ३० देखि ४० करोड रुपैयाँभन्दा बढी खर्च भएको उनले जानकारी दिए ।
नेपाली एशोसिएशन अफ ओरेगन, अमेरिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि एक करोड १७ लाख ६० हजार रुपैयाँ सहयोग गरेको छ ।