एनपीएलमा आज शीर्षस्थानका लागि काठमान्डु र सुदूरपश्चिम भिड्दै, चितवनलाई जित्नैपर्ने दबाब

0 Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज शुक्रबार दुई खेल हुँदै छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा बेलुकी साढे ४ बजे चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।

आजका दुवै खेल प्लेअफ समीकरणका दृष्टिले महत्त्वपूर्ण छन्। पहिलो खेलमा शीर्षस्थानमा पुग्ने लक्ष्यसहित काठमान्डु र सुदूरपश्चिम मैदानमा उत्रनेछन् भने दोस्रो खेलमा चितवनलाई प्लेअफको सम्भावना बलियो बनाउन जित्नैपर्ने दबाब छ।

अंक तालिकामा हाल लुम्बिनी लायन्स ६ खेलबाट ९ अंकसहित पहिलो स्थानमा छ। काठमान्डु गोर्खाज ५ खेलबाट ८ अंक जोडेर दोस्रो र सुदूरपश्चिम रोयल्स ६ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा छन्। नेट रनरेटका आधारमा काठमान्डु सुदूरपश्चिमभन्दा अगाडि छ।

काठमान्डु र सुदूरपश्चिम दुवै टोलीले अहिलेसम्म चार–चार खेल जितेका छन्। काठमान्डुले एक खेल हारेको छ भने सुदूरपश्चिम दुई खेलमा पराजित भएको छ। आजको खेल जित्ने टोलीले दुई अंक थप्दै शीर्षस्थानको दौडमा आफ्नो स्थिति बलियो बनाउनेछ।

काठमान्डुका लागि आजको खेल जिते १० अंक पुग्नेछ। त्यसले टोलीलाई प्लेअफ नजिक पुर्‍याउनेछ। सुदूरपश्चिमले जिते पनि १० अंक पुग्नेछ र नेट रनरेटका आधारमा शीर्षस्थानको प्रतिस्पर्धा थप रोचक बन्नेछ। सुदूरपश्चिमका लागि यो समूह चरणको अन्तिम खेल हो भने काठमान्डुले पोखरा एभेन्जर्ससँग अर्को खेल खेल्न बाँकी छ।

दुवै टोलीले पछिल्ला खेलमा राम्रो प्रदर्शन गर्दै आएका छन्। काठमान्डुले पछिल्लो खेलमा चितवन राइनोजलाई १० रनले पराजित गरेको थियो। सुदूरपश्चिमले जनकपुर बोल्ट्सलाई २७ रनले हराएको थियो। त्यसैले दुवै टोली आत्मविश्वासका साथ मैदानमा उत्रनेछन्।

दोस्रो खेलमा भने चितवन राइनोजलाई जितको दबाब छ। पाँच खेलबाट दुई जित र एक नतिजाविहीन खेलसहित ५ अंक जोडेको चितवन हाल पाँचौँ स्थानमा छ। टोलीले अब जनकपुर र कर्णाली याक्ससँग खेल्न बाँकी छ। प्लेअफको सम्भावना बलियो बनाउन चितवनले दुवै खेल जित्नुपर्नेछ। दुवै खेल जिते टोलीको अंक ९ पुग्नेछ।

एक खेल मात्र जिते चितवनको ७ अंक हुनेछ। त्यस अवस्थामा शीर्ष चारमा पुग्न अन्य टोलीको नतिजा र नेट रनरेटमा भर पर्नुपर्नेछ। त्यसैले जनकपुरविरुद्धको खेल चितवनका लागि निकै महत्त्वपूर्ण छ।

यता, जनकपुर बोल्ट्सको प्लेअफ सम्भावना कमजोर बनेको छ। टोलीले ६ खेलबाट ४ अंक मात्र जोडेको छ। अब एक खेल बाँकी रहेकाले जनकपुरले जिते पनि अधिकतम ६ अंक मात्र पुग्नेछ। त्यसैले प्लेअफमा पुग्न जनकपुरलाई आफ्नो खेल जित्नुका साथै अन्य टोलीको नतिजा पनि अनुकूल हुनुपर्नेछ।

जनकपुर पछिल्लो समय लगातार पराजित हुँदै आएको छ। टोलीले पछिल्लो खेलमा सुदूरपश्चिमसँग २७ रनले हार बेहोरेको थियो। त्यसअघि पनि लुम्बिनी र विराटनगरसँग पराजित भएको थियो। चितवनविरुद्ध जित निकाल्न नसके जनकपुरको प्लेअफ यात्रा समाप्त हुनेछ।

एनपीएलको लिग चरणमा आठ टोली सहभागी छन्। प्रत्येक टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्ने लिग चरणबाट अंक तालिकाका शीर्ष चार टोली प्लेअफमा पुग्नेछन्। लिग चरणका खेल सकिन लाग्दा शीर्ष चारको प्रतिस्पर्धा थप रोचक बनेको छ। लुम्बिनी, काठमान्डु र सुदूरपश्चिम बलियो अवस्थामा देखिए पनि चितवन, विराटनगर र अन्य टोलीका बाँकी खेलले अन्तिम समीकरण निर्धारण गर्नेछन्।

बिहीबार भएका खेलमा विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको थियो। अर्को खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो। यी नतिजापछि लुम्बिनी ९ अंकसहित शीर्षस्थानमा कायम रहेको छ।

लिग चरणका बाँकी खेलसँगै प्लेअफमा पुग्ने टोलीको टुंगो लाग्ने भएकाले आजका दुवै खेलले अंक तालिकाको समीकरणमा महत्त्वपूर्ण प्रभाव पार्नेछन्।

सम्बन्धित समाचार