काठमाडौं । अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्लेको हत्या गरेको अभियोगमा उनका श्रीमान् नरेश भट्ट दोषी ठहर भएका छन् । अदालतको जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या तथा शवको अपमान र लुकाएको अभियोगमा समेत दोषी ठहर गरेको हो ।
करिब ६ सातासम्म चलेको सुनुवाइमा भट्टसहित विभिन्न साक्षीहरूको बयान र प्रमाणको अध्ययनपछि मंगलबार जुरीले फैसला सुनाएको हो । गत साता अदालतमा अप्रत्याशित बयान दिँदै भट्टले ममताको शव टुक्राटुक्रा पारेको र फ्याँकेको स्वीकार गरेका थिए । तर, उनले श्रीमतीको हत्या भने आफूले नगरेको दाबी गर्दै ममता शंकास्पद अवस्थामा मृत फेला परेको जिकिर गरेका थिए ।
अन्तिम बहसका क्रममा अभियोजन पक्षले भट्टको बयानलाई ‘बनावटी र पागलपनपूर्ण’ भन्दै त्यसलाई विश्वास नगर्न जुरीसमक्ष आग्रह गरेको थियो। जुलाई २०२४ मा मानासस पार्कस्थित आफ्नै घरबाट बेपत्ता भएकी ममताको शव अहिलेसम्म फेला परेको छैन ।
सहायक कमनवेल्थ महान्यायाधिवक्ता सारा सामीले भट्टले ममताको हत्या गरी शव टुक्राटुक्रा पारेर फोहोरजस्तै फ्याँकेको बताइन् । उनले भर्जिनियाको लुरेमा रहेको ल्यान्डफिललाई ममताको अन्तिम विश्रामस्थल बनाइएको उल्लेख गर्दै परिवारले उनको अन्तिम संस्कारसमेत गर्न नपाउने पीडादायी अवस्था सिर्जना भएको बताइन् ।
सामीले भनिन्, “हामीलाई उनी मरिसकेको थाहा छ । तर परिवारले उनको अन्तिम संस्कार गर्नसमेत पाउने छैन । उनको शव ल्यान्डफिलमा टुक्राटुक्रा भएर नष्ट भएको छ।” प्रथम श्रेणीको हत्याको अभियोगमा भट्टलाई कम्तीमा २० वर्षदेखि जन्मकैदसम्मको सजाय हुन सक्नेछ। त्यस्तै, शवको अपमान र लुकाएको अन्य अभियोगमा थप पाँच वर्षसम्मको सजाय हुन सक्ने व्यवस्था छ। उनलाई आगामी मार्चमा सजाय सुनाइनेछ ।
फैसलापछि अदालतबाहिर भेला भएका ममताका साथीभाइ तथा नेपाली समुदायका सदस्यहरूले खुसी व्यक्त गर्दै न्यायको स्वागत गरेका थिए । यसअघि सोमबार अदालतमा बयान दिँदै भट्टले ममतालाई मृत अवस्थामा भेटेपछि आफू पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) को असरमा परेको र मानसिक रूपमा नियन्त्रण गुमाएको अवस्थामा उनको शव टुक्राटुक्रा पारेको बताएका थिए ।
यता, भट्टकी प्रतिरक्षा वकिल ट्रेसी लेनोक्सले घटनाक्रममा पर्याप्त तर्कसंगत शंका रहेको दाबी गरेकी थिइन् । उनले अभियोजन पक्षले ममतामाथि दुर्व्यवहार भएको आरोप प्रमाणित गर्न नसकेको जिकिर गर्दै जुरीलाई शंकाको लाभका आधारमा निर्दोष ठहर गर्न आग्रह गरेकी थिइन्। तर, जुरीले अभियोजन पक्षले प्रस्तुत गरेका प्रमाण र साक्षीहरूको बयानका आधारमा भट्टलाई दोषी ठहर गरेको हो ।