देउसीभैलोमा अश्लील नृत्य गरेको आरोपमा थप तीन युवती पक्राउ

0 Shares

रुपन्देही । देउसीभैलो कार्यक्रमका नाममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

तिहारको अवसरमा नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताको प्रतिकूल हुने गरी सार्वजनिक रूपमा अश्लील नृत्य देखाएको भन्दै उनीहरूलाई पक्राउ गरिएको हो।

सिद्धार्थनगर नगरपालिका वडा नं. ७ स्थित कान्छीबजारबाट वडा प्रहरी कार्यालय भैरहवाको टोलीले बिहीबार उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। पक्राउ पर्नेहरूमा सल्यानको कपुरकोट गाउँपालिका–४ बस्ने २२ वर्षीया पुजा ठकुरी, दाङको गढवा गाउँपालिका–७ बस्ने २३ वर्षीया सपना चौधरी र गुल्मीको सत्यवती गाउँपालिका–६ बस्ने २४ वर्षीया बिपना मगर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार पक्राउ परेका तीनै जनामाथि ‘सार्वजनिक हित र नैतिकता विरुद्धको कसूर’ अन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान अघि बढाइएको छ।

सम्बन्धित समाचार