काठमाडौं । झापाको भद्रपुरबाट भन्सार छलेर अवैध रूपमा नेपाल भित्र्याइएको साढे २५ लाख रुपैयाँभन्दा बढी मूल्यको भारतीय फूल सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाबाट खटिएको मोबाइल गस्ती टोलीले आइतबार (कार्तिक २२ गते) मध्याह्न १२ बजे भद्रपुर नगरपालिका-८ देवीबस्ती इलाकाबाट उक्त फूल बरामद गरेको हो ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी नायब निरीक्षक अमरबहादुर भुजेलको कमान्डमा खटिएको ९ जनाको टोलीले अवैध फूल नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका सामग्रीहरूमा २२ लाख ६८ हजार ४ सय रुपैयाँ मूल्य बराबरको ११ हजार ३ सय ४२ थान भारतीय सयपत्री फूलको माला र २ लाख ९५ हजार रुपैयाँ मूल्य बराबरको १२ झोला भारतीय कमलको फूल रहेका छन् ।
जम्मा २५ लाख ६३ हजार ४ सय रुपैयाँ बराबरको फूल बरामद पछि स्थानीय प्रतिनिधिहरूको उपस्थितिमा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाको कार्यालय परिसरभित्र खाल्डो खनेर नष्ट गरिएको प्रहरीले जनाएको छ ।