काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहारको लक्ष्मीपूजाका दिन विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरेको छ । वर्षभरिमै सबैभन्दा बढी विद्युत् खपत हुने दिनका रूपमा रहेको लक्ष्मीपूजाका लागि प्राधिकरणले विद्युत् आपूर्ति व्यवस्थापनको विशेष तयारी गरेको जनाएको छ ।
प्राधिकरणका अनुसार लक्ष्मीपूजाको समयमा मुलुकभर विद्युत्को माग उच्च हुने भएकाले मागअनुसार आपूर्ति सुनिश्चित गर्न उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त बनाइएको छ । यस वर्ष अनुमानित माग आन्तरिक उत्पादनबाटै सहज रूपमा व्यवस्थापन गर्न सकिने प्राधिकरणको भनाइ छ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार लक्ष्मीपूजाको समयमा विद्युत् प्रणालीमा करिब २ हजार ५०० मेगावाट उत्पादन हुने प्रक्षेपण गरिएको छ । अनुमानित मागभन्दा आन्तरिक उत्पादन बढी हुने भएकाले विद्युत् आपूर्तिमा समस्या नआउने र माग धान्न आन्तरिक उत्पादन नै पर्याप्त हुने उनले बताएका छन् ।
चौबीसै घण्टा प्राविधिक टोली परिचालन
विद्युत्को माग र आपूर्तिबीच सन्तुलन कायम राख्दै सम्भावित प्राविधिक समस्या तत्काल समाधान गर्न प्राधिकरणले चौबीसै घण्टा प्राविधिक टोली परिचालन गरेको छ । उत्पादन गृहदेखि प्रसारण लाइन र वितरण प्रणालीसम्मको नियमित निगरानी तथा आवश्यक मर्मतसम्भारको व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।
प्रणालीमा कुनै समस्या देखिए तत्काल मर्मत गरी विद्युत् सेवा सुचारु गर्न प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखिएको छ । साथै, विद्युत् आपूर्तिको अवस्थाबारे उच्चस्तरीय समन्वय र अनुगमनलाई समेत तीव्रता दिइएको छ ।
कार्यकारी निर्देशक श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेर लक्ष्मीपूजाका दिन आउन सक्ने सम्भावित चुनौती र तिनको समाधानका उपायबारे छलफल गरिएको थियो । त्यसैगरी, प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग तथा प्रादेशिक कार्यालयका प्रमुखहरूसँग भर्चुअल बैठक गरी आवश्यक जनशक्ति परिचालन र प्रणालीको निगरानीबारे समन्वय गरिएको छ ।
लक्ष्मीपूजाको साँझ ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ र कार्यकारी निर्देशक श्रेष्ठ स्वयं केन्द्रीय कमान्ड सेन्टरमा बसेर विद्युत् आपूर्तिको अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको प्राधिकरणले जनाएको छ ।
विद्युत् अवरुद्ध भए तत्काल गुनासो सुनुवाइ
प्राधिकरणले पर्वको समयमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भारलाई प्राथमिकता दिएको छ । मर्मतसम्भार गर्न बाँकी रहेका काम तत्काल सम्पन्न गर्न सम्बन्धित कार्यालयहरूलाई निर्देशनसमेत दिइएको छ ।
विद्युत् आपूर्तिमा समस्या आएमा उपभोक्ताको गुनासो तत्काल सम्बोधन गर्न नो लाइट सेवाको व्यवस्थापन प्रभावकारी बनाउन कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको छ । नो लाइट सेवामा प्राप्त हुने फोन नियमित रूपमा उठाउने र उपभोक्ताको समस्या शीघ्र समाधान गर्ने व्यवस्था मिलाइएको प्राधिकरणको भनाइ छ ।
पर्व अवधिभर विद्युत्को माग तथा आपूर्तिको अवस्थालाई नियमित रूपमा अनुगमन गर्न एलडीसी, ग्रिड सञ्चालन तथा वितरण केन्द्रहरूबीच निरन्तर समन्वय गरिनेछ ।
विद्युत् सुरक्षित प्रयोग गर्न आग्रह
प्राधिकरणले तिहारको समयमा विद्युत्को खपत बढ्ने भएकाले आम उपभोक्तालाई सुरक्षित रूपमा विद्युत् प्रयोग गर्न आग्रह गरेको छ । घरमा प्रयोग हुने विद्युतीय उपकरण, तार तथा अन्य सामग्रीको अवस्था जाँच गर्न र गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न प्राधिकरणले सुझाव दिएको छ ।
त्यस्तै, विद्युत् चुहावट, तारमा समस्या वा अन्य प्राविधिक गडबडी देखिएमा आफैँ मर्मत गर्ने प्रयास नगर्न र दक्ष प्राविधिकबाट मात्रै मर्मत गराउन अनुरोध गरिएको छ ।
विद्युत् आपूर्तिसम्बन्धी कुनै समस्या वा गुनासो भएमा नजिकैको वितरण केन्द्र वा सम्बन्धित नो लाइट सेवामा सम्पर्क गर्न पनि प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।
लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग व्यवस्थापन गर्दै घरायसी तथा व्यावसायिक उपभोक्तालाई भरपर्दो र निरन्तर विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यसहित प्राधिकरणले आवश्यक तयारी पूरा गरेको जनाएको छ ।