‘इनम प्रकरण’मा आन्तरिक छानबिन समिति गठन गर्न न्यायाधीशहरूको माग, सोमबार पुनः फुलकोर्ट बस्ने

0 Shares

काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको विषयमा सार्वजनिक रूपमा प्रश्न उठेपछि आज सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बसेको छ । बैठकमा सहभागी अधिकांश न्यायाधीशले न्यायालयको गरिमा जोगाउन यस विषयमा सर्वोच्च अदालतभित्रैबाट आन्तरिक छानबिन समिति गठन गर्नुपर्ने धारणा राखेका छन् ।

मुद्दाको पेसीका लागि गोला प्रक्रिया सुरु हुनुअघि बसेको उक्त आकस्मिक बैठकमा वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लबाहेक अन्य सबै न्यायाधीश उपस्थित थिए । बैठकको सुरुवातमै न्यायाधीश हरिप्रसाद फुयाँलले पछिल्लो समय चर्चामा रहेको ‘इनम’सँगको कुराकानीबारे स्पष्टीकरण दिएका थिए । आफूहरूसमक्ष इनम प्रधानमन्त्रीको नाम लिएर आएकाले ह्वाट्सएपमा कुराकानी भएको स्वीकार गर्दै उनले कुनै पनि न्यायिक विचलन हुने कार्य नगरेको दाबी गरे ।

सर्वोच्च स्रोतका अनुसार न्यायाधीश फुयाँलले भने, ‘हामीले उनी (इनम)ले भनेजस्तो कुनै फैसला गरेका छैनौँ र यहाँ उपस्थित कसैबाट पनि उनको अनुकूल हुने गरी न्याय सम्पादन भएको छैन । बरु हामी आफैँले प्रधानमन्त्रीको सचिवालयमा जानकारी गराएपछि मात्रै इनमलाई पक्राउ गर्ने वातावरण बनेको हो ।’

उनले आफ्नो मात्र नभई प्रधानन्यायाधीशको समेत नाम जोडिएकाले सत्यतथ्य बाहिर ल्याउन अदालतभित्रैबाट निष्पक्ष छानबिन समिति गठन हुनुपर्ने माग राखे ।

बैठकमा न्यायाधीशहरू नित्यानन्द पाण्डेय, मेघराज पोखरेल, महेश शर्मा पौडेल, श्रीकान्त पौडेल र शारंगा सुवेदीलगायतले पनि आफ्नो धारणा राखेका थिए । उनीहरूले न्यायालयमाथि लागेको आरोप गम्भीर भएकाले यसको निष्पक्ष निरूपण हुनुपर्नेमा जोड दिए ।

‘न्यायालयको पछिल्लो घटनाक्रमबारे संसद्ले आफ्नो ठाउँबाट के गर्छ, त्यो उसको कुरा हो, तर न्यायालय स्वयंले पनि आन्तरिक रूपमा छानबिन गरेर निष्कर्षमा पुग्नुपर्छ,’ बैठकमा सहभागी एक न्यायाधीशले भने ।

यस विषयमा थप छलफल तथा आवश्यक निर्णय गर्न आउँदो सोमबार पुनः फुलकोर्ट बैठक बस्ने सहमति भएको छ । आजको बैठक सम्पन्न भएलगत्तै न्यायाधीशहरू गोला तानेर नियमित इजलासमा मुद्दाको सुनुवाइका लागि बसेका छन् ।

सम्बन्धित समाचार