काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले विभिन्न तहका ८० पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले खुला तथा समावेशी प्रतिस्पर्धात्मक परीक्षामार्फत १३ प्रकारका पदमा कर्मचारी नियुक्त गर्न आवेदन माग गरेको हो।
कम्पनीको पदपूर्ति समितिले सार्वजनिक गरेको सूचनाअनुसार नवौँ तहको उपप्रबन्धकदेखि तेस्रो तहको जुनियर टेक्निसियनसम्मका पदमा आवेदन खुलाइएको छ। लोक सेवा आयोगको सहमतिपछि कम्पनीको कर्मचारी विनियमावली, २०७८ (संशोधनसहित) अनुसार पदपूर्ति प्रक्रिया अघि बढाइएको हो।
सातौँ तहको टेलिकम इन्जिनियर (कम्प्युटर) मा खुलाइएको छ। यस पदमा १० जना कर्मचारी माग गरिएको छ। त्यस्तै, छैटौँ तहको सहायक प्रशासनिक अधिकृतमा ९ जना, चौथो तहको टेलिकम टेक्निसियनमा ९ जना र छैटौँ तहको सहायक व्यापार अधिकृतमा ८ जना माग गरिएको छ।
कम्पनीले सातौँ तहका टेलिकम इन्जिनियर (इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन) र इलेक्ट्रिकल इन्जिनियरमा तीन–तीन जना माग गरेको छ। पाँचौँ तहको ओभरसियरमा तीन जना तथा छैटौँ तहको सहायक लेखा अधिकृतमा दुई जना पद खुलाइएको छ।
त्यस्तै, नवौँ तहको उपप्रबन्धक (चार्टर्ड एकाउन्टेन्ट), आठौँ तहको वरिष्ठ इन्जिनियर (टेलिकम), वरिष्ठ व्यापार अधिकृत र वरिष्ठ लेखा अधिकृतमा एक–एक जना माग गरिएको छ। चौथो तहको सहायकमा १७ जना र तेस्रो तहको जुनियर टेक्निसियनमा १२ जना पद खुलाइएको छ।
खुला तथा समावेशी समूहबाट पदपूर्ति
नेपाल टेलिकमले खुला प्रतिस्पर्धासँगै महिला, आदिवासी/जनजाति, मधेसी, दलित, अपाङ्गता भएका व्यक्ति र पिछडिएको क्षेत्रका उम्मेदवारका लागि समावेशी समूहअन्तर्गत पनि पद छुट्याएको छ।
पदअनुसार खुला तथा समावेशी समूहको संख्या फरक–फरक छ। सातौँ तहको टेलिकम इन्जिनियर (कम्प्युटर) मा खुलातर्फ ६ र महिला, आदिवासी/जनजाति, मधेसी तथा दलित समूहमा एक–एक पद छुट्याइएको छ। छैटौँ तहको सहायक प्रशासनिक अधिकृतमा खुलातर्फ पाँच र समावेशी समूहका विभिन्न शीर्षकमा पद छुट्याइएको छ।
कम्पनीले सबै पदमा आवश्यक योग्यता पुगेका नेपाली नागरिकबाट अनलाइन आवेदन माग गरेको छ। उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, हस्ताक्षरको नमुना, शैक्षिक योग्यताका प्रमाणपत्र तथा आवश्यकताअनुसार तालिम, अनुभव र समावेशी समूह खुल्ने प्रमाणपत्र अनलाइन फाराममा अपलोड गर्नुपर्नेछ।
आवेदन नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np वा recruit.ntc.net.np मार्फत अनलाइन प्रणालीबाट दिन सकिनेछ। आवश्यक कागजात अपलोड नगरेका, म्याद नाघेर बुझाएका वा रीत नपुगेका आवेदनमाथि कारबाही नहुने कम्पनीले जनाएको छ।
कम्पनीले पदपूर्तिका लागि सञ्चालन गर्ने लिखित परीक्षा लोक सेवा आयोगबाट हुनेछ। आवेदनकर्ताले कम्पनीको कर्मचारी विनियमावलीमा तोकिएको योग्यता पूरा गरेको हुनुपर्नेछ। लोक सेवा आयोगबाट सञ्चालित परीक्षामा अनियमितता गरेको कारण निश्चित अवधिसम्म परीक्षामा सहभागी हुन नपाउने गरी कारबाहीमा परेका व्यक्ति आवेदनका लागि योग्य हुने छैनन्।
