गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीन दिन मनास्लु क्षेत्रमा पदयात्रा नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ । बिहीबार, शुक्रबार र शनिबार उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेको भन्दै प्रशासन कार्यालयले पदयात्रा गर्न रोक लगाएको हो ।
‘उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्ने कुनै पनि निषेधित क्षेत्रमा पदयात्रा गर्न अनुमति लिनुभएका पदयात्रीले सम्भावित जोखिम न्यूनीकरणका लागि उक्त अवधिभर पदयात्रा नगर्नुहुन तथा पदयात्रामा गइसकेको भए सुरक्षित ठाउँमा रहनुहुन अनुरोध छ,’ जिल्ला प्रशासन कार्यालयको विज्ञप्तिमा भनिएको छ, ‘सो अवधिभरका लागि उच्च पहाडी र हिमाली क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा जाने पदयात्रा अनुमति बिहीबारदेखि लागू नहुने व्यहोरा सम्बन्धित सबैलाई यसै सूचनामार्फत् जानकारी गराइन्छ ।’
साथै ट्रेकिङ एजेन्सी, पदयात्री तथा पथप्रदर्शकलगायत सम्पूर्ण सरोकार भएका निकायका प्रतिनिधिले मातहतका पर्यटकलाई सूचित गरिदिन पनि प्रशासनले आग्रह गरेको छ ।