यस्तो छ आज देशभरको मौसम

0 Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको असर छ ।

कोशी, मधेस र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि साधारणतया बादल लागेको महाशाखाले जनाएको छ ।

लुम्बिनी प्रदेशका तराई भूभागमा आंशिक बदली रहे पनि बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशका थोरै स्थान र बागमती तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

सोमबार देशका विभिन्न भूभागमा मौसम बदली भई वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा साधारणतया बादल लाग्ने छ । कर्णाली र सुदूरपश्चिमका हिमाली भूभाग एवं देशका तराई क्षेत्रमा भने आंशिक बादल लाग्ने अनुमान गरिएको छ ।

दिउँसो र रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्छ । ती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको आकलन गरिएको छ ।

मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार