४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएपछि काठमाडौंको हिउँदे माग व्यवस्थापनमा सरकारको तयारी

0 Shares

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट जलविद्युत् आयोजनामा क्षति पुगेर करिब ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएपछि सरकारले काठमाडौं उपत्यकाको हिउँदे विद्युत् माग व्यवस्थापनका लागि वैकल्पिक आपूर्ति प्रणालीको तयारी थालेको छ ।

बाढीका कारण त्रिशूली करिडोरबाट काठमाडौंको बालाजु र चपली क्षेत्रमा आउने विद्युत् आपूर्ति अवरुद्ध भएपछि ती क्षेत्रमा रहेको प्रसारण प्रणालीमा चाप परेको छ । आगामी हिउँदमा विद्युत् माग बढ्ने भएकाले त्यसअघि नै वैकल्पिक आपूर्ति व्यवस्था बलियो बनाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले काम अघि बढाएका छन् ।

ऊर्जा मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार त्रिशूली करिडोरबाट आउने विद्युत् अवरुद्ध भएपछि काठमाडौंमा वैकल्पिक आपूर्ति प्रणाली विकास गर्न गृहकार्य भइरहेको छ । प्राधिकरणले यसका लागि छुट्टै कार्यदल बनाएर काम अघि बढाइरहेको उनले बताए ।

“हिउँदको विद्युत् व्यवस्थापनका लागि वैकल्पिक प्रणाली बलियो बनाउने विषयमा काम भइरहेको छ,” उनले भने ।

मन्त्रालय र प्राधिकरणले काठमाडौं उपत्यकाभित्र भूमिगत विद्युत् ग्रिड थप विस्तार गर्ने विकल्पलाई समेत प्राथमिकतामा राखेका छन् । यसका लागि मंगलबार सडक विभाग र काठमाडौं महानगरपालिकासँग छलफल गरिएको छ ।

छलफलमा काठमाडौंमा निर्माण भइरहेका तथा प्रस्तावित भूमिगत विद्युत् संरचनालाई थप व्यवस्थित बनाउने र आवश्यक स्थानमा नयाँ भूमिगत ग्रिड निर्माण गर्ने विषयमा सहकार्य गर्ने समझदारी भएको छ । सडक तथा फुटपाथमा पूर्वाधार निर्माण गर्दा विद्युत् प्रणालीलाई समेत समेटेर अघि बढ्ने विषयमा सरकारी निकायबीच समन्वय गर्ने तयारी छ ।

सडक विभागका काठमाडौं डिभिजन प्रमुख सुबोध देवकोटाले भूमिगत ग्रिड निर्माणका लागि विभागका तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

काठमाडौं महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख सुरेशकुमार राईले पनि फुटपाथभित्र भूमिगत तार व्यवस्थापन गर्न आवश्यक सहकार्य गर्ने बताएका छन् ।

बाढीपछि आपूर्ति प्रणालीको विकल्प खोजिँदै

भोटेकोशी बाढीका कारण त्रिशूली करिडोरबाट काठमाडौं आउने विद्युत् आपूर्ति अवरुद्ध भएपछि बालाजु र चपली क्षेत्रमा वैकल्पिक विद्युत् आपूर्तिको आवश्यकता बढेको प्राधिकरणले जनाएको छ । यही अवस्थालाई ध्यानमा राखेर विद्यमान भूमिगत ग्रिडको विश्वसनीयता बढाउने र थप संरचना निर्माण गर्ने विषयमा काम भइरहेको हो ।

प्राधिकरणको आयोजना निर्देशनालयका प्रमुख दुर्गानन्द बडियातले उपत्यकामा भइरहेको भूमिगत तार व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै हिउँदे विद्युत् माग व्यवस्थापनका लागि वितरण तथा ग्राहक सेवा निर्देशनालयसँग समन्वय गरिने बताए ।

काठमाडौं उपत्यकामा विद्युत्को माग बढ्दै जाने र एकैपटक ठूलो परिमाणको विद्युत् आपूर्ति अवरुद्ध हुँदा वैकल्पिक प्रणाली आवश्यक पर्ने भएकाले प्रसारण तथा वितरण संरचनालाई थप भरपर्दो बनाउने काम अघि बढाइएको प्राधिकरणको भनाइ छ ।

बागमती वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख मुनिन्द्र ठाकुरले काठमाडौंको लोड व्यवस्थापन र आवश्यक पूर्वाधारबारे छलफलमा प्रस्तुतीकरण गरेका थिए । उनका अनुसार प्राधिकरणले हिउँदे माग व्यवस्थापनका लागि कार्यदल बनाएर आवश्यक तयारी अघि बढाइरहेको छ ।

सबै निकायसँग समन्वयमा जोड

काठमाडौंको हिउँदे विद्युत् माग व्यवस्थापनका लागि ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, सडक विभाग र काठमाडौं महानगरपालिकाबीच समन्वय बढाउने तयारी गरिएको छ ।

प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले काठमाडौंको हिउँदे विद्युत् माग व्यवस्थापनका लागि सम्बन्धित सबै निकायबीच उच्चस्तरको सहकार्य आवश्यक रहेको बताए ।

हिउँदमा विद्युत्को माग बढ्ने भएकाले अहिलेबाटै आवश्यक पूर्वाधार र आपूर्ति प्रणालीको व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । यस विषयमा मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको उनले बताए ।

भोटेकोशी बाढीपछि ठूलो परिमाणमा विद्युत् उत्पादन तथा प्रसारण संरचना प्रभावित भएपछि काठमाडौंको आपूर्ति व्यवस्थापनलाई तत्कालीन क्षति मर्मतसँगै आगामी हिउँदको मागसँग जोडेर अघि बढाउनुपर्ने अवस्था आएको हो । त्यसका लागि विद्यमान प्रसारण तथा वितरण संरचनाको विश्वसनीयता बढाउने, वैकल्पिक आपूर्ति मार्ग तयार गर्ने र आवश्यक ठाउँमा भूमिगत ग्रिड विस्तार गर्ने कामलाई प्राथमिकता दिइएको छ ।

सम्बन्धित समाचार