चोलेन्द्रलाई पक्राउ गर्ने एसएसपीको बयान- आदेश पालना गरेको हुँ

0 Shares

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले मानव अधिकार आयोगसमक्ष बयान दिएका छन् । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई भेट्न नदिए पनि उनलाई आयोगले सोधपुछका लागि बोलाएको थियो ।

आइतबार मध्यराति एसपी खड्काकै नेतृत्वको टोलीले राणालाई शयन कक्षबाटै नियन्त्रणमा लिएको थियो । एसएसपी खड्काले आफूले ‘आदेश पालना गरेको’ बयान दिएका छन् ।

आयोगसम्मक्ष उनले आफूले हरेक काम आदेशानुसार गरेको भनेका हुन् । उनी केही बेरअघि आयोगबाट बाहिरिएका छन् । आयोग स्रोतका अनुसार उनीमाथिको अनुसन्धान जारी रहेको र प्रारम्भिक चरणको बयानमात्र भएको छ ।

आयोगमा कार्यरत उपसचिव दर्जाकी एक अनुसन्धान अधिकृतले उनीसँग बयान लिएकी थिइन् ।

राणालाई अपराध अनुसन्धान कार्यालयमा शनिबार रातिदेखि आइतबार अपराह्नसम्म नियन्त्रणमा राखिएको थियो । पूर्वसंवैधानिक पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको विषयबारे बुझ्नका लागि राष्ट्रिय मानव अधिकार आयोगको टोली पुग्दा भेट्न दिइएको थिएन ।

‘पूर्वप्रधानन्यायाधीशको बिनाकारण पक्राउ र आयोगले अनुगमन गर्न जाँदा सम्बन्धित व्यक्तिलाई भेट्ने अनुमति नदिइनु गम्भीर घटना हो, त्यसबारे अनुसन्धान जारी छ’, आयोग स्रोतले भन्यो ।

उक्त घटनाको अनुसन्धानका क्रममा आवश्यकताअनुसार अन्य व्यक्ति र निकायसँग पनि सोधपुछ हुनसक्ने स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार