यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

0 Shares

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५ करोड बढी राजस्व सङ्कलन गरिएको छ । कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका सुर्खेत, जुम्ला र रुकुमपश्चिम यातायात कार्यालयबाट ३५ करोड आठ लाख ४३ हजार ५९० राजस्व सङ्कलन गरिएको हो ।

जिल्लागत रूपमा सबैभन्दा बढी राजस्व यातायात व्यवस्था कार्यालय सुर्खेतबाट २९ करोड ५६ लाख नौ हजार ४१० राजस्व सङ्कलन भएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार बमले जानकारी दिए ।

त्यसैगरी, जुम्लाबाट करिब दुई करोड र रुकुमपश्चिमबाट तीन करोड ५७ लाख ९१ हजार ६५० राजस्व सङ्कलन भएको उनले । उनका अनुसार राजस्व सङ्कलनको मुख्य आधार सवारीसाधन कर रहेको र कुल राजस्वमध्ये सवारीसाधन करको योगदान ८७.४६ प्रतिशत रहेको छ ।

त्यस्तै, चालक अनुमतिपत्र, सवारी दर्ता तथा नवीकरण दस्तुरबाट १०.९४ प्रतिशत, प्रशासनिक दण्ड, जरिवाना तथा जफतबाट १.४८ प्रतिशत र अन्य प्रशासनिक सेवा शुल्कबाट ०.२१ प्रतिशत राजस्व सङ्कलन भएको सचिव बमले जानकारी दिए ।

मन्त्रालयले यातायात क्षेत्रको सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउँदै राजस्व सङ्कलन तथा प्रशासनिक व्यवस्थापनलाई थप सुदृढ गर्ने जनाएको छ ।

सम्बन्धित समाचार