काठमाडौं । बाढी पहिरोबाट अवरुद्ध भएका पृथ्वी र बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् । नेपाल प्रहरीका अनुसार पहिरो पन्छाएपछि यी राजमार्ग एकतर्फी सञ्चालनमा आएका हुन् ।
गण्डकी प्रदेशमा पनि पहिरोका कारण सडक सञ्जाल अस्तव्यस्त बनेको छ । मनाङको चामे-बेँशीसहर, बागलुङको कालिगण्डकी करिडोर, म्याग्दीको बेनी-जोमसोम र बेनी-दरबाङ सडक खण्ड पूर्ण रुपमा बन्द छन् ।
मुस्ताङको जोमसोम-कोरला, पर्वतको मालढुङ्गा-बेनी, नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, लमजुङको मध्य पहाडी लोकमार्ग र तनहुँको पृथ्वीराजमार्ग (घाँसीकुवा)मा पनि पहिरोले गर्दा यातायात पूर्ण रुपमा ठप्प भएको छ ।
यसैगरी लुम्बिनी प्रदेशको गुल्मीस्थित कालिगण्डकी करिडोर तथा कर्णाली प्रदेशको कालिकोटस्थित कर्णाली राजमार्ग (गगने खोला) र मुगुको नाग्म-गमगढी सडक खण्ड पनि पहिरोका कारण पूर्ण रुपमा अवरुद्ध भएका छन् ।
प्रहरी तथा स्थानीय प्रशासनले अवरुद्ध सडकहरू खुलाउने प्रयास गरिरहेका छन् । यात्रामा निस्कनुअघि सम्बन्धित क्षेत्रको सडक स्थितिबारे जानकारी लिन प्रहरीले सबैमा अनुरोध गरेको छ ।