गोरखा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरेको छ । दसैँतिहारलाई लक्षित गरी शाखाले चामलमा साविकभन्दा प्रतिकिलो रु पाँच मूल्य घटाएर सहुलियत मूल्यको चामल बिक्री गर्न थालेको खाद्य व्यवस्था कार्यालयकी प्रमुख रञ्जना केसीले बताइन् ।
कार्यालयको वार्षिकउत्सवको अवसर पारेर साउन २८ गतेदेखि सहुलियतको चामल बिक्री सुरु गरेको उनले जानकारी दिइन् । अनुसार कार्यालयबाट स्टिम जिरा मसिना र अरुवा सोना मन्सुली चामल छुट मूल्यमा बिक्री हुँदै आएको छ । यस वर्षका लागि कार्यालयको गोरखा शाखामा ३८० क्विन्टल सिर्दिबास डिपोका लागि १९० क्विन्टल तथा बिक्री केन्द्र नामरुङ र चुमलिङका लागि पनि १९० क्विन्टल चामल छुट मूल्यमा बिक्री गर्न कोटा निर्धारण भएको थियो ।
सोअन्तर्गत शाखा कार्यालय गोरखाबाट अरुवा सोना मन्सुली चामल प्रतिकिलो रु ६२ बाट घटेर रु ५७ मा बिक्री भइरहेको छ । स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ९२ बाट घटेर रु ८७ का दरले बिक्री गरिरहेको कार्यालय प्रमुख केसीले जानकारी दिइन् ।
खाद्यको सिर्दिवास डिपो तथा बिक्री केन्द्र नामरुङ र चुमलिङबाट भने अरुवा सोना मन्सुली चामल प्रतिकिलो रु ६५ बाट घटेर रु ६० र स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ९५ बाट घटेर रु ९० का दरले बिक्री गरिरहेको कार्यालय प्रमुख केसीको भनाइ छ । उनका अनुसार छुट कोटाको मौज्दात नसकिएसम्म बिक्री केन्द्रबाट सहुलियतको चामल उपलब्ध हुन्छ । छुट कोटाको मौज्दात सकिएपछि भने पुरानै दरमा चामल खरिद बिक्री हुने उल्लेख छ ।
चालु आर्थिक वर्ष २०८३/८४ का लागि खाद्यको सिर्दिवास डिपो, नाम्रुङ बिक्री केन्द्र तथा चुम्लिङ बिक्री केन्द्रका लागि एक, एक हजार क्वीन्टल चामलको कोटा निर्धारण भएको छ । शाखा कार्यालय गोरखाका लागि भने आवश्यकताअनुसार चामल ढुवानी हुने बताइएको छ । कार्यालयको सिर्दिवास डिपोमा हाल ७०० क्वीन्टल चामल मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले जनाएको छ । रासस