टी २० विश्वकप- मुख्य ब्याट्म्यान चल्न नसक्दा नेपालको हार, कसले कति रन बनाए ?

0 Shares

काठमाडौं । आईसीसी टी २० विश्वकपको पहिलो खेलमा नेपालले खराब प्रदर्शन गरेसँगै नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो । नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओ’डाउडले अविजित रहँदै सर्वाधिक ५४ रन बनाए ।

यस्तै विक्रमजित सिंहले २२ र साएब्रान्ड एंगलब्रेक्टले १४ रन जोडे । बास डे लिडले अविजित ११ रन बनाए ।

नेपालका लागि सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र अभिनाश बोहराले समान एक विकेट लिए ।

त्यसअघि अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा अलआउट हुँदै १०६ रन मात्रै बनाएको थियो ।

एक दशकपछि दोस्रो पटक टी २० विश्वकपमा पुगेको नेपालले चिरपरिचित प्रतिद्वन्द्वीसँग राम्रो सुरुवात गर्ने अपेक्षा गरिएको थियो । तर, नेपालको ब्याटिङ चल्न सकेन ।

चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाएको खेलमा कप्तान रोहित पौडेलले ३७ बलमा सर्वाधिक ३५ रन बनाए । उनले ५ चौका हाने ।

लोअर अर्डरमा करण केसीले १२ बल खेल्दै २ छक्का मदतमा १७ रन बनाए । गुल्सन झाले १४ रन बनाउँदा अनिल शाह ११ रन जोडे ।

ओपनरहरू कुशल भुर्तेल र आसिफ शेखले जम्मा ११ रन मात्रै बनाए । कीर्तिमानी ब्याटरहरू दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले जम्मा १० रन बनाए । तीन खेलाडीले खाता खोल्न नसक्दा नेपाली दबाबमा परेको थियो ।

नेपाललाई अलआउट गर्न नेदरल्याण्ड्सका टिम प्रिन्जल र लोगन भान विकले समान ३ तथा पउल भान मिकेरन र बास डे लिडले समान २ विकेट लिए ।

सम्बन्धित समाचार